बर्षातले बाली बर्वादः भारतीय सिमावर्ती क्षेत्रमा बर्षेनी समस्या
२२ असार २०७८/डिकेश लामा
पछिल्लो समयको लगातारको बर्षाको कारण झापाको दक्षिण सिमावर्ती क्षेत्रका दर्जनौं किसानको अन्नबाली नष्ट भएको छ । असार महिनामा चैते धान काट्ने र रोप्ने वेला अविरल परेको बर्षाले धेरै किसानको अन्नबाली डुबानमा परेर नष्ट भएको छ ।
अविरण बर्षाका कारण झापाका दक्षिणी भूभागका अन्नबाली थन्काउन नपाउँदै ढुबानमा परेका छन् । धान, मकै थन्काउने र रोप्नु पर्ने यो समय अविरल बर्षाले किसानलाई धेरै क्षति पुर्याएको छ । झापाको गौरीगंज गाउँपालिका वडा नं. १ चउरी बस्ती क्षेत्रमा धेरै किसानको अन्नबाली थन्काउन नपाउँदा खेतबारीमै विग्रिएको सो वडाका सदस्य टंकप्रसाद श्रेष्ठले बताउनु भयो ।
दक्षिण झापा सीमावर्ती क्षेत्रमा सयौं विगाह नेपाली भूमिमा भारतीयहरुले खेती गर्ने गरेका छन् । अगुवा बालीहरु राम्रै उठाउन भ्याए पनि पछौटे बाली उठाउन समस्या हुँदा लाखौं रकमको बाली पानीले भिजेर उम्रन थालेको किसानले गुनासो पोखेका छन् । गौरीगंज गाउँपालिका वडा नं. २ बगाहचौधरी क्षेत्रका किसानको चैते धान कन्काई नदिको बहावले ढुवानमा परेका छन् । नदिको बाढीले दक्षिणी भूभाग सँगै ढुवान र कटानमा पर्ने गरेको सो क्षेत्रका किसान दुर्गाप्रसाद ताजपुरियाले बताउनु भयो ।
उत्तरी भूभागमा परेको पानी पनि दक्षिणी भूभागमै जम्मा हुने भएकाले बर्षेनी भारतीय सीमावर्ती क्षेत्रमा अन्नबाली थन्काउन समस्या हुन्छ । पछिल्लो समय अविरल परेको बर्षाले धेरैको अन्नबाली विग्रिएको महाभारा क्षेत्रका अगुवा किसान केदार बजगाईंले बताउनु भयो । बजगाईंका अनुसार गत बर्ष पनि सो क्षेत्रमा सयौं मन धान उम्रिएर खेर गएको थियो । यस बर्ष गत बर्षको तुलनामा कम क्षती भए पनि धेरै किसान पीडित बनेका छन् ।
अगुवा धान तथा मकैबाली उठाउन सहजै भए पनि पछौटे बालीमा भने समस्या आएको छ । अविरल बर्षाले धानबाली थन्काउन नपाउँदा खेतबारीमै कुहिएका कारण ठूलो क्षति व्यवहोर्नु परेको किसानले दुखेसो पोखेका छन् ।