सुकुम्बासी र प्रहरीबीच झडप हुँदा बुटवलमा ४ जनाकाे मृत्यु, प्रहरी, पत्रकार सहित दर्जनाैं घाइते

२४ असाेज २०७८, बुटवल- रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा अाज चार जनाको मृत्यु भएको छ ।

मृत्यु भएकामध्ये तीनको सनाखत हुन नसकेको र एकको सनाखत भएको शिक्षण अस्पताल (युसिएमएस) का जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा करिब ४८ वर्षीय कपिलवस्तुको वाणगङ्गा नगरपालिका–४ का रमेश परियार रहेका छन् । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । अन्य तीनको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको गुरुङले बताउनुभयो । मृत्यु भएकाहरु सर्वसाधारण हुन् । अस्पतालमा अन्य पाँच प्रहरी र चार सर्वसाधारणको उपचार भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रहरीले अस्थायीरूपमा बनाइएका टहराहरूसमेत भत्काएको छ । झडपमा परी कैयौँ घाइते भएका छन् । सो औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो सङ्ख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो । अतिक्रमित जग्गाबाट स्थानीयवासी हट्न नखोजेपछि प्रहरीले बल प्रयोग गरेको बताइएको छ ।

जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयवासीले विरोध गरेका थिए । करिब २०० बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो । विसं २०७२ चैत १ मा रुपन्देहीको मोतिपुरमा पाँच वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भारतले सीमा नाका नखोल्दा काँकडभिट्टामा समस्या: चाडबाडले गर्दा पैदल यात्रीकाे चाप बढ्याे (भिडियाे सहित)
Next post खुशीकाे खबर नेपालमा काेराेना कम हुँदै