रवि चिसापानी सडक बनाउने भन्दै चुरे क्षेत्रमा अवैध उत्खनन् (फाेटाे फिचर सहित)

उत्खनन् तत्काल राेक्न स्थानीयकाे माग

१७ माघ २०७८/सारासन्देश समाचार

सडक निर्माण गर्ने भन्दै प्रारम्भिक वातावरण परिक्षण र अनुमति विनै रतुवा खोलाको चुरे क्षेत्रमा धमाधम उत्खनन् र क्रसर संचालन हुँदै आएको छ । दमक रवि चिसापानी सडक खण्डको निर्माण गर्ने लुम्बिनी गणपति जेभीले स्थानीय धार्मिक बनसँगको मिलेमत्तोमा उत्खनन् गर्दै आएको हो । राज्यले बर्षेनी अरवौं रुपयाँ चुरे संरक्षणमा खर्च गर्दै आईरहेको वेला सडक बनाउने भन्दै विना प्रारम्भिक वातावरण परिक्षण र अनुमति नलिई निर्माण कम्पनिले अवैध उत्खनन् गर्दै आएको छ । माङ्सेबुङ–३, ४ र ५ को संगमस्थलमा रहेको मझुवामा एक महिनाअघि राखिएको क्रसरका लागि यही क्षेत्र भएर बग्ने रतुवा नदी एक महिनायता निरन्तर दोहन भइरहेको छ ।स्थानीय र वनका कर्मचारीसँगको समन्वयमा उत्खनन् गरेर सडक बनाउने गरेको सडक निर्माणका साइड सुपरभाइजर जगेन्द्र योङहाङ्ग स्वयमले बताउनु भयो । योङहाङ्गका अनुसार स्थानीय तहसँग नभई स्थानीय बनका पदाधिकारी तथा स्थानीय बासिन्दासँगको मिलेमत्तोमा उत्खनन् गरेको बताउनु भयो । यस्तै गाउँपालिका प्रशासनले समेत वातावरण परिक्षण र अनुमति नलिएको जानकारी दिएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लिराम सुवेदीका अनुसार हालसम्म वातावरण परिक्षण र स्वीकृति कुनै पनि नलिएको बताउनु भयो ।

स्थानीय सरकार संचालन ऐन २०७४ ले प्राकृतिक स्रोतको व्यवस्थापनमा स्थानीय सरकारलाई नै अधिकार दिएको छ । तथापि चुरे क्षेत्र उत्खनन् गर्न प्रारम्भिक वातावरण परिक्षण अनिवार्य गर्नु पर्ने राष्ट्रपति चुरे तराई मधेस समृद्धि विकास समितिका बोर्ड सदस्य कमला ओलीले बताउनु भयो । ओलीका अनुसार चुरे क्षेत्र उत्खनन् गर्न राष्ट्रपति चुरे तराई मधेस समृद्धि विकास समितिबाट समेत अनुमति लिनु पर्ने हुन्छ । तर सो क्षेत्रमा उत्खनन् गर्न कतैबाट पनि आधिकारिक अनुमति लिइएको छैन । सडक निर्माणका लागि भए पनि क्रसर राख्न र उत्खनन् गर्न स्थानीय तहको अनिवार्य स्वीकृति लिनु पर्छ । विना स्वीकृति काम गर्न नमिल्ने भौतिक पूर्वाधार तथा यातायत मन्त्रालय सडक डिभिजन दमकका प्रमुख रमेश पौडेलले बताउनु भयो । पौडेलका अनुसार आफूहरुले सडक बनाउन पत्र दिएको भए पनि सरोकारवाला निकायबाट अनुमति र प्रकृया भने पुरा गर्नु पर्ने बताउनु भयो ।

झापाको दमक देखि चिसापानी पंचमीसम्मको सडक निर्माण गर्न ३ वटा प्याकेजमा ठेक्का लागेको ३ बर्ष भइसकेको छ । पहिलो प्याकेजको ६ दशमलव २ किलो मिटर सडक १ बर्ष अघि नै बनाइ सक्नु पर्ने हो । तर हालसम्म आधा पनि काम भएको छैन । यस बाहेक २ बर्ष अघि देखि दोस्रो र तेस्रो प्याकेजको एक साथ ठेक्का लागेर धमाधम कार्य भईरहेको छ । लुम्बिनी गणपति जेभीले निर्माण थालेको दुई वटा प्याकेज मध्ये तेस्रो प्याकेजको पहाडी क्षेत्रमा गुणस्तरहीन काम भएको भन्दै विरोध समेत आउन थालेको छ । सडक बनाउने भन्दै अवैध तवरबाट चुरे दोहन हुँदा सडकसँगै मानवबस्ती समेत जोखिममा पर्ने भएकाले तत्काल उत्खनन् रोक्नु पर्ने स्थानीय अगुवाले माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ५२९२ संक्रमित,८१९१ निकाेः ८ जनाकाे मृत्यु (तालिका सहित)
Next post यूवा नेतृत्व पाए पछि दमकमा माओवादीहरू सक्रीय बन्दै