त्रिभुवन आर्मी क्लबले पाँचौं संस्करणको नेपाल आइस झापा गोल्डकपको उपाधी चुम्याे (फाेटाे फिचर सहित)

३० फाल्गुण २०७८,झापा– डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले पाँचौं संस्करणको नेपाल आइस झापा गोल्डकपको उपाधि जितेको छ । आज भएको फाइनल खेलमा घरेलु टोली झापा–११ लाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । जीतसँगै आर्मीले नगद १२ लाख ५५ हजार रुपयाँ प्राप्त गरेको छ । उपविजेता भएको झापाले नगद ६ लाख पाँच हजार रुपैयाँमा चित्त बुझाएको छ । आर्मीले योसँगै चौथोपटक झापा गोल्डकपको उपाधि हात पारेको हो ।

आर्मीलाई उपाधि जिताउन टेकबहादुर बुढाथोकी र जर्जप्रिन्स कार्कीले गोल गरेका छन् । फाइनल खेलको १८ औँ मिनेटमा सुमन अर्यालको पासमा टेकबहादुर बुढाथोकीले गोल गर्न सफल भएका छन् । यस्तै अर्को गोल २१ औँ मिनेटमा जर्जप्रिन्स कार्कीले गरेका छन् । ३ मिनेटभित्र २ गोल खाएको झापाले त्यसपछि खेल नियन्त्रणमा लियो । उसले दोस्रो गोल खाएको ३ मिनेटमा एक गोल फर्काउन सफल भयो भने अन्य गोल गर्न नसक्दा उपविजेताको रुपमा आफूलाई चित्त बुझाउनु पर्यो । फाइनल खेलको म्यान अफ द म्याच टेकबहादुर बुढाथोकी घोषित भएका छन् । बुढाथोकीले ९ हजार ९९९ रुपैयाँ पुरस्कार पाएका छन् । पुरस्कारको प्रायोजन युवा व्यवसायी श्याम प्रसाईंले गरेका हुन् ।

प्रतियोगिताको ‘मस्ट भ्यालुएबल प्लेयर’ झापाका डिफेन्डर देबेन्द्र तामाङ भएका छन्  । उनले यामाहा कम्पनीको एक थान मोटरसाइकल पाए । गोल्डकपको सर्वाधिक गोलकर्ता विमल घर्तीमगर हुँदै नगद २५ हजार प्राप्त गरे । मगरले प्रतियोगितामा खेलेका तीन खेलमा पाँच गोल गरेका छन् । प्रतियोगिताको बेस्ट डिफेन्डर झापाका मनोज राई, बेस्ट मिड फिल्डर झापाकै आन्दे्रस निया, बेस्ट किपर आर्मीका विकेश कुथु र वेष्ट कोच आर्मीका नवीन न्यौपाने घोषित भएका छन् । उनीहरुले जनही २१ हजार रुपैयाँ पाएका छन् ।

फागुन २१ गतेदेखि सुरु भएको झापा गोल्डकपमा भारतका दुई टिम, घरेलु टोली झापा–११ र सातवटा ए डिभिजन क्लबसहित दश क्लबको सहभागिता थियो । खेलमा भारतका मानेभञ्ज्याङ फुटबल क्लब, रेडपाण्डा फुटबल क्लब, घरेलु टोली झापा–११, आर्मी, नेपाल पुलिस क्लब, एपिएफ क्लब, संकटा क्लब, सातदोबाटो युथ क्लब, थ्रीस्टार क्लब र जावलाखेल युथ क्लबको सहभागिता थियो । खेल प्रतियोगितामा झापा गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले प्रतियोगिताबाट झण्डै ५० लाख रुपैयाँ बचत भएको आयव्यय सार्वजनिक गर्नु भएको छ । फाग्न २१ गते पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको प्रतियोगिता कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले समापन गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ५८ संक्रमित, १४८ निकाे
Next post शसस्त्र प्रहरी फाइनलमा प्रवेशः अव चैत्र ३ गते टेम्केसँग फाइनलमा भिड्ने (फाेटाे फिचर सहित)