पुलिससँग बदला लिने दाऊमा मनाङ (फोटो फिचर सहित)
कसले मार्ला बाजी?
१७ चैत्र २०७८/डिकेश लामा
विभागीय टोली नेपाल पुलिस क्लब काठमाडौंलाई यस पटकको दमक गोल्डकपमा वदला लिने सोचमा रहेको मनाङ मस्र्याङ्दीले दावी गरेको छ । यस्तै पुलिसले भने फेरि पनि आफ्नै पोल्टामा नजिता पार्ने दाऊमा रहेको बताएको छ । दमकमा जारी दमक गोल्ड कप २०७८ को भोलि हुने फाइनलमा यस पटक पनि यस अघिकै विजेता र उपविजेताबीच भेट भएको हो ।
दमक गोल्ड कप २०७५ मा मनाङ मस्र्याङ्दीलाई १–० गोल अन्तरमा पुलिसले उपाधी जितेको थियो । तर यस बर्ष शसक्तरुपमा उत्रिएको मनाङले उपाधी उल्टाउने दाउमा रहेको टीमका कोच राजेन्द्र तामाङले बताउनु भयो । यस्तै पुलिसका कोच अन्तत थापाले पनि ७ औं पटकसम्म लिग विजेता बन्न सफल सशक्त टीमलाई हराएरै छाड्ने दाऊमा खेल खेल्ने बताउनु भयो ।
भोलि हुने पुसिल र मनाङको भिडन्तलाई आज गरिएको पूर्व पत्रकार सम्मेलनमा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली र उपप्रमुख गीता अधिकारीले दुवै टिमलाई शुभकामना र खेलमा सहभागी १० वटै टीमलाई धन्यवाद दिएका छन् ।
खेलको विजेताले १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने छ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र फरवार्डले जनही नगद २१ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक दमक खेलकुद विकास समितिका अध्यक्ष भिम चौंलागाईंले बताउनु भयो ।