उत्साहका साथ उम्मेद्वारी मनोनयन दर्ताः दमकमा अधिकारी र थापाबीच भिडन्त हुने (फाेटाे फिचर सहित)

११ बैशाख २०७९/डिकेश लामा
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकमा आज गठबन्धनका दल बाहेक अन्य दलले उमेद्वारी दर्ता गरेका छन् । झापामा निक्कै चासोका साथ हेरिएको दमक नगरपालिकामा एमालेका तर्फबाट यस अघि उपप्रमुख भइसक्नु भएकी गीताकुमारी पौडेल अधिकारीले नगर प्रमुखको पदमा उम्मेद्वारी दर्ता गर्नु भएको छ । यस्तै उपप्रमुखमा अम्बिका खनालले दर्ता गराउनु भएको छ । यस्तै १० वटा वडाका अध्यक्षमा केही पुराना र केही नयाँ अनुहारले दोहोर्याएका छन् ।
जिल्लामा अधिकांश क्षेत्रमा गठबन्धनको मुख्य दल नेपाली काँग्रेश, माओवादी केन्द्र बाहेक लोक तान्त्रिक समाजबादी पार्टी, संघीय लोकतान्त्रिक मंच, मौलिक जरोकिलो, नेकपा एमाले, जनमत पार्टी, मंगोल नेश्नल अर्गानाइजेशन लगायतले उम्मेदवारी दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जानकारी दिनु भयो । यस्तै यता झापाको हल्दिबारीमा भने राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत उम्मेद्वारी मनोनयन गरेको निर्वाचन कार्यालय झापाले जानकारी दिएको छ ।

यस्तै लामो रस्साकस्सीबीच झापाको दमक नगरपालिकामा गठबन्धनले भागबन्डा टुंग्याएको छ । दमकमा राष्ट्रिय प्रजातन्त्र पार्टीसहितको गठबन्धन बनेको हो । जसअनुसार दमकमा राप्रपाले नगरप्रमुख पाउने सहमति भएको नेकपा माओवादी केन्द्र दमकका अध्यक्ष रवि बस्नेतले जानकारी दिनु भयाे । कांग्रेसले उपप्रमुखसहित चारवटा वडा र माओवादीले चारवटा वडा पाउने सहमति भएको छ । राप्रपाले नगरप्रमुखसहित वडा नम्बर १ र ७ पाउने सहमति भएको हाे ।  यस्तै, कांग्रेसले उपप्रमुख सहित वडा नम्बर ३, ४, ५, र १० नम्बर वडा पाउने सहमति भएको छ। यता माओवादीले वडा नम्बर २, ६, ८ र ९ लिने सहमति भएको बस्नेतले जानकारी दिनु भयाे ।  जसपा र नेकपा (एस)लाई पनि वडामा समेटेर अघि बढ्ने सहमति भएको बस्नेतले बताउनु भयाे ।

राप्रपा दमकमा शक्तिशाली पार्टी मनिन्छ। यसअघि ०७४ को निर्वाचनमा राप्रपाबाट राम थापा दोस्रो स्थानमा रहनु भएकाे थियाे । यसपटक पनि राम थापा नै राप्रपाबाट उम्मेदवार बन्नेछन् । यसले गर्दा अव नगरप्रमुखमा अधिकारी र थापाबीच भिडन्त हुने भएकाे छ । गठबन्धन र नेकपा एमाले बाहेक स्वतन्त्र उम्मेद्वार र अन्य पार्टीबाट समेत भाेलीसम्म उम्मेद्वार पर्नेछ ।  गठबन्धनका अरू दलले उम्मेदवार भने टुंगो लगाएको छैन । भाेली गठबन्धनका दलले उम्मेद्वारी दर्ता गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १८ संक्रमित, १७ निको
Next post नेपालमा आज १३ संक्रमित, २५ निको