स्थानीय निर्वाचन २०७९ः कतै हिंसा, कतै स्थगित तथापि ६५ प्रतिशत मत खसेकाे अनुमान(फाेटाे फिचर सहित)

३० वैशाख २०७९,सारासन्देश समाचार– नेपालमा एकैसाथ संचालन गरिएकाे ७ सय ५३ वटा स्थानीय तहकाे निर्वाचन धेरै स्थानमा शान्तिपुर्वक भए पनि केहि स्थानमा स्थगित र हवाइ फायर समेत गर्नु पर्ने अवस्था भएकाे छ ।  विभिन्न १७ वटा स्थानीय तहकाे ४४ मतदान केन्द्रमा मतदान स्थगित भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दिनु भएकाे जानकारी अनुसार राजनीतिक दलका बीचमा विवाद र वर्षाका कारण समेत गरी देशभरका १७ स्थानीय तहका २८ मतदान स्थलका ४४ वटा मतदान केन्द्रमा मतदान सम्पन्न हुन नसकेको जानकारी दिनु भयाे ।  थपलियाले स्थगित भएकाे स्थान मतदाताका कारणले नभइ असल राजनैतिक संस्कारकाे विकास हुन नसक्दा राजनैतिक विवादका कारणा निर्वाचन स्थगित भएकाे बताउनु भयाे । विहान परेकाे बर्षाले केही स्थानमा निर्वाचन ढिलाे समेत भएकाे छ ।

यस्तै केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले विभिन्न जिल्लामा छिटफुट घटना देखिए पनि निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको बताउनुभयो । उहाँका अनुसार अपराह्न पाँच बजेसम्म प्रहरी प्रधान कार्यालयमा प्राप्त विवरणअनुसार आज ३० भन्दा बढी जिल्लामा ११० घटना भएको छ । उहाँका अनुसार अझै पूर्ण विवरण आउन भने बाँकी छ ।

प्राप्त विवरणअनुसार विवादका कारण अवरुद्ध भएका ४० वटा मतदानस्थलमा पुनःमतदान गरिएको थियो । उहाँले काभ्रे, सप्तरी, सर्लाहीलगायतका केही मनदानस्थलमा मतदान स्थगित भएको जानकारी आएको बताउनुभयो । केही जिल्लामा वर्षासमेतले मतदान प्रभावित बनाएको थियो ।

यसैबीच ११ जिल्लाका केही मतदानस्थलमा स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको बताउनुभयो । हुम्लाको एक ठाउँमा भने अश्रुग्यास नै प्रहार भएको थियो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि स्थानीय तहमा दोस्रो कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन भएको हो ।

निर्वाचन अायाेगका अनुसार मतदानका लागि अर्को मिति भने तोकिएको छैन । स्थगन गरिएका मतदान केन्द्रमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय र त्यहाँको वस्तुस्थिति समेतको अध्ययन गरेर पुन: मतदानको मिति तोक्ने तयारी गरिएकाे अायाेगले जानकारी दिएकाे छ । यता राष्टि्य मानव अधिकार संगठनले शान्तिपुर्वक निर्वाचन हुन नसकेकाे ठहर गरेकाे छ  ।

यसैबीच यता देशमै महत्वका साथ हेरिएकाे झापा जिल्लामा विर्तामाेड नगरपालिका वडा नं. ४ काे पुरानाे विजुली कार्यालयकाे केन्द्र बाहेक सवै क्षेत्रमा शान्तिपुर्वक मतदान सम्पन्न भएकाे जिल्ला निर्वाचन झापाका प्रमुख तुलसी नेपालले बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सुरक्षित मतदान स्थल निर्माण (फाेटाे फिचर सहित)
Next post झापामा कांग्रेस र एमालेकाे प्यानल विजयी शुरूवात