झापाको स्थगित स्थानमा भोलि देखि मत गणना शुरु हुने
३ जेष्ठ २०७९,सारासन्देश समाचार– झापाको कमल र गौरीगंज गाउँपालिका भोलि देखि मतगणना शुरु हुने भएको छ । गौरीगञ्जमा सोमबार बिहानबाट रोकिएको मत गणना सुरु हुने भएको हो । भिोलि बिहानबाट गणना सुरु गर्ने गरी सहमति भएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिनु भएको छ । मत गणनाको क्रममा गौरीगञ्ज– १ मा खसेको मत र मत पेटिकामा भएको मतपत्रको संख्यामा फरक आएपछि कांग्रेसले आपत्ती जनाएको थियो । गौरीगञ्ज–१ बाट निर्वाचन सम्पन्न भएको दिन ३ हजार ८ सय ८ मत खसेको मुचुल्का तयार पारिएको थियो । तर, गणनाका समयमा एक सय ७३ मत बढी देखिएको भन्दै कांग्रेसले विरोध जनाएपछि गणना स्थगित भएको थियो । गणनाको समयमा ३ हजार ९८१ मत पुगेको भन्दै कांग्रेसले धाँधली भएको जनाएको छ ।
उक्त वडामा मतगणना सकिँदा कांग्रेसका कात्र्तिकलाल राजवंशी र एमालेका पर्शुराम काफ्लेको बराबरी एक हजार ८१ मत आएको थियो । उक्त वडामा पुनः मत गणना हुने भएपछि सहमति जुटेको नेपालले बताउनु भयो । ‘सबै मत गणना सकिएपछि वडाध्यक्षको मात्र अन्तिममा गणना गर्ने सहमति भएको छ । नेपालका अनुसार भोलिबाट गणना सुरु हुनेछ ।
यस्तै कमल गाउँपालिकामा सोमबार रातिदेखि रोकिएको मत गणना पुनः सुरु गरिने भएको छ । भोलि बुधबारबाट गणना सुरु गर्ने सर्वदलीय बैठकले निर्णय गरेको जिल्ला निर्वाचन कार्यालय झापाले जानकारी दिएकाे छ । कमलमा मत गणनाको क्रममा एमालेले प्राप्त गरेको मतभन्दा धेरै जोडेको भन्दै गठबन्धनले गणना रोकेका थिए । प्रमुख जिल्ला अधिबारी छविलाल रिजाल, निर्वाचन कार्यालय झापाका प्रमुखसहित बसेको बैठकले भोलिबाट गणना सुरु गर्ने निर्णय गरेको हो । गणनामा निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतबाहेकका सबै कर्मचारी परिवर्तन गर्ने सहमति भएको छ । ‘कमल गाउँपालिकामा ३ वटा वडाको गणना सकिएको थियो । दुईवटा वडामा गठबन्धन र एउटामा एमाले विजयी भएको छ । अध्यक्षमा गठबन्धनका हुकुमसिंह राई अगाडि छन् । यसअघि दुई दिनदेखि स्थगित भएको शिवसताक्षी नगरपालिकाको मत गणना पनि अाज देखि सुचारु भइसकेको छ ।