भूटानी अभिभावक डा.भम्पा राईको निधन
५ असार २०७९, डिकेश लामा– नेपालीभाषाी भुटानी समाजका अगुवा शरणाथी नेता डा.भम्पा राईको आज निधन भएको छ । ७५ वर्षीय राईको आज आइतबार बिहान २ बजेर ४० मिनेटमा विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पाँच दिन अघि हर्नियाको शल्यक्रिया गरेका राईको शनिबार दिउँसो ३ बजेतिर मुटुमा समस्या आए पछि तत्काल दमकस्थित लाइफालाइन अस्पताल भर्ना गरिएकाे थियाे । लाइफ लाइनमा उपचार संभव नभएपछि विराटनगर रिफर गरिएकाे थियाे । विराटनगरकाे नाेवेल अस्पतालमा उपचारकै क्रममा उहाँको बिहान निधन भएको थियाे । राईको स्वास्थ्यमा समस्या देखिएपछि उहाँसँग नजिकमा रहनु भएका डा. बेदनिधी खतिवडाले शनिबार अपराह्न विराटनगर अस्पताल पुऱ्याउनु भएकाे थियाे ।
साढे ३ दशक देखि भुटानी नेपाली भाषाी भूटानकाे अधिकारका निम्ति आन्दोलनको नेतृत्व गर्दै आउनु भएका राईकाे दुई बर्ष अघि श्रीमती उर्मिलाकाे समेत देहान्त भएकाले दमकमा एक्लै बस्दै आउनु भएकाे थियाे । राई पेट सम्बन्धी गम्भीर रोगबाट पीडित हुनु हुन्थ्याे । तीन वर्षअघि आन्द्रा फुटेर रगत बग्दा महिनौं दिनसम्म थलिएका उहाँको तीन वटा शल्याक्रिया गरिएको थियो । पेटको शल्यक्रियापछि निकाे हुनु भएका राई पछिल्लो एक वर्ष हर्नियाबाटसमेत पीडित हुनु हुन्थ्याे । निकै दु:ख दिन थालेपछि पाँच दिनअघि गत मंगलबार दमकस्थित लाइफलाइन अस्पतालमा उनले हर्नियाको समेत शल्यक्रिया गरिएकाे थियाे ।
राईको पार्थिव शरीरको आइतबार नै किरात संस्कार अनुसार दमक नजिकैको पाडाजुँगी स्थित रतुवामाई वृक्षारोपणको जंगलमा अत्येष्टि गरिने जनाइएको छ ।
२९ वर्षदेखि दमक ८ स्थित खगेन्द्र गुरागाईंको घरमा डेरा बस्दै आएका राईलाई दमक नगरपालिकाले नि:शुल्क आवासको व्यवस्था गरिदिएको थियो । दमक ५ स्थित खेम भण्डारीको घरको भुइँ तलामा तीन वटा कोठा र किचनसहितको फ्ल्याटको व्यवस्था गरिएको थियो । उक्त फ्ल्याटमा राई गत जेठ १३ देखि बस्न थाल्नु भएकाे थियाे ।
भुटानी राजाका निजी डाक्टर समेत रहनु भएका राई सन् १९९० मा भुटानबाट नेपाली भाषीलाई लखेट्दा उनी आफ्नै इच्छाले नेपाल आएका अाउनु भएकाे थियाे । उहाँकाे आमा विष्णुमायाको २०५४ र बुबा आइतराजको २०६४ सालमा निधन भएको थियाे । सँधै स्वदेश िपफिर्तीकाे कुरा उठाइरहने डा. राइ अाफू पनि स्वदेश पुग्न नपाउँदै देहान्त हुनु पर्दा धेरै भूटानीहरूले अभिभावक गुमाउनु परेकाे बताएका छन् ।