झापामा टनेल खेतीमा आकार्षणः वेमौषमी तरकारीबाट राम्रो आम्दानी (फाेटाे फिचर)
१३ साउन २०७९/बालदिवश तामाङ
सरकारको सहयोगमा झापामा व्यवसायिकरुपमा टनेल भित्र खेती गर्ने प्रविधि विकास हुँदै गएको छ । यस बर्ष मात्र कृषि ज्ञान केन्द्र मार्फत दर्जन बढी स्थानमा टनेल निर्माण गरे पछि किसानहरु यतिखेर धमाधम वेमौषमी तरकारी खेतीमा जुटेका छन् । देशमा संघीयता आएसँगै तीन तहको सरकारले अनुदान दिन थाले पछि टनेल निर्माण गरी किसानहरु वेमौषमी तरकारी खेतीमा लागेका छन् । धान मकै भन्दा राम्रो आम्दानी हुने भए पछि टनेल निर्माण गरी खेती थालिएको छ ।
झापाको विर्तामोड नगरपालिका वडा नं. ७ की पुनम प्रसाईंले अहिले २० वटा टनेल निर्माण गर्नु भएको छ । धान रोप्ने खेतमा बर्षातको सिजनमा टनेल निर्माण गरेर उहाँले यतिखेर धमाधम वेमौषमी तरकारी वेच्दै आउनु भएको छ । जिल्लामा प्राङगरिक मिसन कार्याक्रम शुरु भए पछि किसानहरु टनेल खेतीमा लागेका छन् । बर्षाको वेला खुल्ला क्षेत्रमा तरकारी बाली नहुने भए पछि किसानहरु टनेल बनाएर खेतीमा जुटेका हुन् । टनेल भित्र वेमौषमी तरकारी खेती समेत उत्पादन गर्न थाले पछि किसानले राम्रो आम्दानी समेत गर्न थालेको मेचीनगर नगरपालिका वडा नंं. १ की किसान विमला भूजेलले बताउनु भयो । भूजेलका अनुसार टनेल नहुँदा कार्तिक मंसीरमा मात्र कोपी तथा टमाटर उत्पादन गर्दै आएकोमो टनेल बनाए पछि यतिखेर नै उत्पादन गर्न सफल भएको बताउनु भयो । वेमौषमी तरकारीको मुल्य दोब्वर हुने भएकाले किसानलाई समेत राम्रो आम्दानी हुने गरेको उहाँले बताउनु भयो ।
टनेल भित्र खेती गर्दा बाह्रै महिना तरकारी खेती गर्न सकिन्छ । जिल्लामा पछिल्लो समय उच्च भूभाग रहेको चुरे क्षेत्रसँग जोडिएका पालिकामा यो प्रविधिमा धेरै खेती हुन थालेको छ । वेमौषमीबाट राम्रो आम्दानी हुने भए पछि किसानलाई प्रोत्साहन गर्न टनेल भित्र तरकारी खेतीलाई जोड दिइएको कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागार विष्टले बताउनु भयो । विष्टका अनुसार यस बर्ष दर्जन हाराहारी किसानलाई अनुदानमा टनेल निर्माृण गरी तरकारी खेती थालिएको छ । जिल्लामा पछिल्लो समय झण्डै १० हेक्टर क्षेत्रफलमा तरकारीबाली खेती हुने गर्दछ । वेमौषमीबाट अझ राम्रो आम्दानी हुने भए पछि टनेल खेतीमा किसानले थप जोड दिन थालेको उनीहरुले बताएका छन् ।