मुख्यमन्त्री राई लगायत आठ जनालाई निलम्बन
२७ पाैष २०७७, मोरङ – लामाे समय पछि स्थीर सरकार निर्माण भएकाे अपेक्षा गरेका नेपाली नागरिकले पछिल्लाे समय भएकाे प्रतिनिधिसभाकाे विगठनले पुनः सरकार परिवर्तन हुने आशंका गर्न थालेका छन् । प्रधानमंत्री केपी अाेली नेतृत्वकाे सरकारले गरेकाे कदमले विभाजित पार्टीका खेमाले एक अर्काले आराेप लगाउने र निलम्बन गर्ने खेल शुरू भएकाे हाे ।
यसैकाे उदाहरणकाे रूपमा आज दाहाल–नेपाल समूहले मुख्यमन्त्री शेरधन राई लगायत आठ जनालाई तीन महिनाका लागि निलम्बन गरेको छ । प्रदेशसभाको कुनैपनि गतिविधिमा सहभागी हुन नपाउने गरी निलम्बन गरेको हो । मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ्, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेश सभा सदस्यत्रय इन्द्रमणी पराजुली, अम्बिका थापा र विमल कार्कीलाई निलम्बन गरेको छ ।
दाहाल नेपाल समूहका संसदीय दलका नेता भीमप्रसाद आचार्यद्वारा हस्ताक्षरित निलम्बन पत्रमा दलको कुनैपनि बैठकमा उपस्थित नभई पार्टी र सरकारको हित विपरित गतिबिधिमा संलग्न रहेकाले प्रदेशसभाको कुनैपनि गतिविधिमा संलग्न नहुने गरी नेकपाको संसदीय दलको बिधान २०७६ बमोजिम तीन महिनाका लागि निलम्बन गरेको उल्लेख छ । उनीहरुलाई निलम्बन गरेको बोधार्थ प्रदेशसभा सचिवालयमा दर्ता गराएको सचिव गोपालप्रसाद पराजुलीले बताउनु भयाे ।
यस अघि दाहाल–नेपाल समूहले पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ । उक्त प्रस्तावमा हस्ताक्षर गरेका मध्ये मुख्यमन्त्री राईले स्पष्टिकरण सोधी जवाफ नदिने १६ जनालाई तीन महिनाका लागि निलम्बन गरिसकेको छ ।