भाइटीकाको उतम साइत कात्तिक १० गते बिहान ११ : ३७ बजे

२ कार्तिक २०७९,काठमाडौँ- यस वर्षको भाइटीकाको साइत कात्तिक १० गते बिहीबार बिहान ११ : ३७ बजे  उत्तम रहेको छ ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गर्दै साे जानकारी दिएकाे हाे ।

यमपञ्चक कात्तिक ५ गते शनिबारदेखि सुरु हुनेछ । कात्तिक ५ गते शनिबार यमदीपदान सुरु गरिन्छ । यमपञ्चकका अवसरमा दीपदान गर्नाले यम यातना नपाइने धार्मिक विश्वास छ । धनत्रयोदशी (धनतेरस) पर्व पनि त्यसै दिन मनाउनुपर्ने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

कात्तिक ६ गते आइतबार कागतिहार (काकबली) पर्व परेको छ । धनवन्तरी जयन्ती पनि त्यसै दिन मनाइन्छ । कात्तिक ७ गते सोमबार कुकुर तिहार पर्व मनाइन्छ । त्यसै दिन नरकचतुर्दशी अर्थात् बिहान झिसमिसेमै तेल लगाएर स्नान गरी नरक बालेर बगाइन्छ । यस वर्ष दीपमालिका एवं लक्ष्मीपूजा पर्व पनि कात्तिक ७ गते सोमबार नै रहेको उहाँले बताउनुभयो । लक्ष्मीपूजाको रात्रीलाई सुखरात्री पनि भनिन्छ । कात्तिक ८ गते मङ्गलबार गाईपूजा गरिन्छ । यस दिन सूर्यग्रहण पनि परेको समितिले जानकारी दिएकाे छ । कात्तिक ९ गते बुधबार गोवद्र्धनपूजा, बलिपूजा, हलितिहार, गोरुपूजा, आत्मपूजा (म्हपूजा) का साथै नेपाल संवत्को नयाँ वर्ष आरम्भ पनि यसै दिन परेको छ । कात्तिक ९ गते बुधबारदेखि नेपाल संवत् ११४३ आरम्भ हुँदैछ ।

कात्तिक १० गते बिहीबार तिहारको मुख्य दिन हो । यस दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाई आशीर्वादसहित दीर्घायुको कामना गर्दछन् । नेवारी समुदायले किजापूजाका नाममा मनाउने पर्व पनि यसै दिन परेको समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post गाैरादहमा गोली हानेर हत्या
Next post नेपाल-चीन सीमा केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प