झापा गाेल्डकप फाल्गुण अन्तिम सातामा हुने

७ पुस २०७९, भद्रपुर– झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता यही फागुन अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको छलफलपछि मिति तय हुने आज भद्रपुरमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ ।
आयोजक समितिका अध्यक्ष दिपेश ढकालका अनुसार प्रतियोगिताका विजेताले नगद १३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद ७ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका लागि मेची रंगशालाको स्तरोन्नति सुरु भइसकेको महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिनु भयाे । अत्यन्त जीर्ण अवस्थामा रहेको झापाकै पुरानो र स्थायी सो रंगशालामा झार रोप्ने र माटोको लेभल मिलाउने काम भइरहेको छ ।

झापा फुटबलको उर्वर भूमि हो भने सदरमुकाम भद्रपुर राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने थलो हो । जिल्लाको सबैभन्दा पुरानो र व्यवस्थित मेची रंगशाला देशका चर्चित र सफल खेलाडीहरुको प्रारम्भिक खेल मैदान हो ।
१८ वर्षअघि आयोजना भएको ‘त्रिभुवन मेमोरियल गोल्डकप’पछि फुटबलका ठूला र प्रतिष्ठित खेलहरु आयोजना हुन नसक्दा मेची रंगशालाको खेल मैदान र थप पूर्वाधारलाई व्यवस्थति गर्न सकिएको थिएन ।
‘यो प्रतियोगिता झापाको प्रतिष्ठित ‘झापा गोल्डकप’कै निरन्तरताको एउटा कडी भएको पनि जानकारी गराउन चाहन्छौँ’, अध्यक्ष ढकालले भने । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजना हुँदै आएको ‘झापा गोल्डकप’लाई यस वर्ष रोकेर मेची रंगशालामा ‘भद्रपुर झापा गोल्डकप’ आयोजना गर्न लागिएको हो ।
प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबहरुसहित विदेशी टोली गरी १० टीमकाे सहभागिता रहने वरिष्ठ उपाध्यक्ष तथा टिम व्यवस्थापन तथा छनोट उपसमिति संयोजक आदित्य पराजुलीले जानकारी दिनुभयाे।
खेल सञ्चालनका लागि भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षमा गोल्डकपका लागि ३० लाख रुपैयाँ बजेट छुट्याइएको नगरप्रमुख गणेश पोखरेलले जानकारी दिनुभएकाे छ । खेल संचालनका लागि कुल १ करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिएको छ ।
प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फवार्ड र उत्कृष्ट प्रशिक्षकलाई २५ हजार तथा प्रत्येक खेलको म्यान अफ द म्याच खेलाडीलाई नगद १० हजार पुरस्कारको प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सवै धर्म र सँस्कृतिबीच एकता र सद्भाव हुनु पर्छः प्रदेश प्रमुख खापुङ
Next post गठबन्धनकै सरकार बन्छः मुख्यमन्त्री राई