गठबन्धनकै सरकार बन्छः मुख्यमन्त्री राई

८ पुस २०७९,विराटनगर
प्रदेश नंं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कुनै चमात्कारिक अवस्थाबाहेक यही सरकारको निरन्तरता हुने राष्ट्रिय परिदृश्य बन्दै गएको उल्लेख गर्नुभएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित चालु आर्थिक वर्ष २०७९÷०८० को प्रथम चौमासिक प्रगति समीक्षालाई सम्बोधन गर्दै उहाँले निर्वाचनपछि सरकार परिवर्तन हुनु स्वभाविक भएको उल्लेख गर्नुभयो ।
‘सरकार परिवर्तन नहोला भन्दिनँ तर यही गठबन्धनको सरकार बन्ने राष्ट्रिय परिदृश्य म देख्दैछु’ मुख्यमन्त्री राईले भन्नुभयो । मुख्यमन्त्री राईले कर्मचारी स्थायी सरकार भएको स्मरण गराउनुहुँदै आफूले सरकार सञ्चालनका क्रममा कर्मचारीलाई सहयोगीभन्दा सल्लाहकारको रुपमा लिएको बताउनुभयो ।
‘कर्मचारीका सवालमा हिजो हामीले कुनै रंग हेरेनौं, बिरालो कालो होस्् वा सेतो मुसा मारे पुग्छ भनेझैं हामीलाई काम चाहिएको छ’ उहाँले भन्नुभयो । मुख्यमन्त्री राईले कर्मचारी जागीर खान मात्रका लागि नभई कामका लागि भएकाले सबै कर्मचारीले पाएको र दिइएको जिम्मेवारीअनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सरकार फेरिने प्रक्रियालाई स्वभाविक रुपमा लिनुपर्ने बताउँदै एउटा सरकारले गरेको कामको दायित्व र जिम्मेवारी अर्को सरकारका लागि बोझ नहोस् भन्नेतर्फ कर्मचारी नै सजग हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । मुख्यमन्त्री राईले आफू सरकारको नेतृत्वमा आउनुपूर्व पूर्ववर्ती सरकारले बहुवर्षीय योजनासहितका टुक्रे योजनामा गरेको खर्चले निकै ठूलो तनाव सहनुपरेको उल्लेख गर्नुभयो ।

‘जोसुकैको सरकार होस् स्रोत सुनिश्चित छैन भने बजेटमा उल्लेख नगरौं भनेर कर्मचारीले भन्न सक्नुपर्छ, हैन भने अर्कालाई भार पर्छ’ मुख्यमन्त्री राईले भन्नुभयो, ‘म कर्मचारी वर्गलाई भन्न चाहान्छु नहुने, नमिल्ने काम छ भने निर्धक्क भएर हुँदैन भन्नुपर्छ, अनि हुने काम छ भने स–सना छिद्र खोजेर अल्झाउनु पनि हुँदैन ।’
उहाँले नागरिकलाई आपत्बिपद् पर्दा सरकार छिटो परिचालन भएको महशुस हुनेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापा गाेल्डकप फाल्गुण अन्तिम सातामा हुने
Next post भाइबुहारीबाटै बाँस्ताेलाकाे हत्या भएकाे खुलासा