गाडी भित्रै माटो परिक्षणको घुम्ती प्रयोगशालाले सहज (फाेटाे फिचर)
१६ पौष २०७९/डिकेश लामा
माटो परिक्षण गर्न टोली आउँछ रे भनेको सुने पछि दमक वडा नं. ८ र ९ क्षेत्रका धेरै किसानले माटो लिएर भेला भए । बस भित्रै ल्याब बोकेर गाडी आउँदा पहिलो पटक देख्ने किसान दंग परे । माटो परिक्षण पनि गरियो । तर माटोको अवस्था विग्रँदै गए पछि किसानहरु चिन्तित भए । झापाको माटोको अवस्था विग्रदै जान थाले पछि घुम्ती प्रयोगशाला संचालनमा ल्याइएको छ । माटोमा अम्लीयपन अधिक बढ्दै गए पछि गाडी भित्रै प्रयोगशाला राखेर किसानकै खेतबारीमा पुगेर परिक्षण थालिएको हो ।
झापा र इलामको माटोको अवस्था रेखदेख गर्दै आएको माटो तथा मल परिक्षण प्रयोगशाला सुरङ्गाको संघीय सरकारको कार्यालय यस बर्ष देखि प्रदेश सरकार माताहातमा संचालन थालिएको छ । प्रदेश सरकारमा कार्यालयको स्वामित्व सारे पछि गाडीमा स्थापना गरिएको घुम्ती प्रयोगशाला समेत संचालन थालिएको कार्यालयकी प्रमुख अन्जु बुढाथोकीले बताउनु भयो । बुढाथोकीका अनुसार किसानले प्रयोगशालामा सस्तो मुल्यमा माटो परिक्षण गर्दा समेत किसानहरुले चासो देखाएका छैनन् । त्यसैले किसानको खेतमै पुगेर परिक्षण गर्न गाडीमा निर्माण गरेको घुम्ती प्रयोगशालाले सहज भएको बताउनु भयो ।
माटोमा रोग लाग्न थाले पछि किसानले समेत माटोको उपचारमा चासो देखाएका छन् । पछिल्लो समय प्राङगरिक खेतीमा लागेका किसानले माटोको अवस्था बुझ्ने र उपचार गर्न थालेको ५ विगाह क्षेत्रमा प्राङगरिक खेती गर्दै आउनु भएका दमकका किसान सोमराज तामाङले बताउनु भयो । तामाङका अनुसार प्राङगरिक खेती गर्न प्रोत्साहन गर्न समूह बनाएर नै थालेका माटोको परिक्षणलाई तिव्र पारिएको बताउनु भयो ।
अघिल्लो बर्ष झण्डै २ हजार किसानको माटो परिक्षण गर्दा ७० प्रतिशत भन्दा बढी माटोको अवस्था विग्रिएको छ । अम्लीयपन अधिक बढेकाले किसानलाई कृषि चुन प्रयोग गर्न उत्पे्ररित गरेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो । विष्टका अनुसार माटोको अवस्था विग्रन थालेकाले आफूले किसानलाई कृषि चुनको प्रयोगलाई जोड दिन आग्रह समेत गरेको बताउनु भयो ।
प्रयाेगशालाकाे गाडी गाउँगाउँ पुग्न थाले पछि किसानलाइ सहज हुन थालेकाे छ । पछिल्लो समय प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको घुम्ति प्रयाेगशालामा माटो परिक्षण गरेसँगै किसानहरुलाई माटोको उपचारमा सहयोग पुगेको उनीहरुले बताएका छन् ।