बिमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार पाैडेलकाे सम्झनामा झापामा उभिएरै शोक सभा

४ माघ २०७९, झापा– नेपाल पत्रकार महासंघ झापा शाखाले पोखरामा विमान दुर्घटनामा ज्यान गुमाएका महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलप्रति मंगलबार उभिएरै श्रद्धाञ्जली व्यक्त गर्दै शोकसभा गरिएकाे छ ।
बिर्तामोडस्थित महासंघको कार्यालयमा मंगलवार शोक सभा सम्पन्न भएको हो । महासंघ झापाका अध्यक्ष एकराज गिरी अध्यक्षतामा भएको शोक सभामा वक्ताहरुले पत्रकार पौडेलको निधनले नेपाली पत्रकारिता क्षेत्रले ठूलो क्षति व्यहोरेको बताउनु भएकाे छ ।
शोक सभामा फोनिज प्रदेश नं. १का इञ्चार्ज दिपीन राई, महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष नरेन्द्र ढकाल, नारी सञ्चार गृह झापाकी सचिव भूमिका सुब्बा, अर्जुनधारा प्रेस क्लबका निवर्तमान अध्यक्ष कुमार भट्टराई, मेचीनगर प्रेस क्लबका अध्यक्ष डम्बर बराल, पत्रकारहरु मुक्ति पौडेल, धमेन्द्र मामा लगायतले केन्द्रीय सदस्य पौडेलसहित विमान दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएकाे छ ।
सभाको सञ्चालन महासंघका सचिव डिकेश लामाले कार्यक्रममा १३ दिनसम्म शोक पुस्तिका राखिने र सवैले शाेक पुस्तिकामा हस्ताक्षर गरिने बताइएकाे छ । सभामा जिल्लाका विभिन्न क्षेत्रबाट सञ्चारकर्मीको सहभागिता थियो ।
माघ १ गते बिहान काठमाडौंबाट पोखराको लागि उडेको नाइनएन एएनसी एटिआर–७२ जहाज अवतरण गर्ने क्रममा पोखराको पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीचमा दुर्घटनाग्रस्त हुँदा केन्द्रीय सदस्य पौडेलको ३७ वर्षको उमेरमा निधन भएको हो ।
पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट निर्वाचित भई केन्द्रीय सदस्य निर्वाचित भएका थिए । २०७४ सालमा महासंघको गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्षका रूपमा रहेर काम गरेका पत्रकार पौडेलले त्यसअघि महासंघ कास्की शाखामा एकपटक उपाध्यक्ष र दुईपटक सचिवका रूपमा रही योगदान गर्नु भएकाे थियाे ।
पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरु गरेका पौडेलले अन्नपूर्ण एफएम र केही समय नेपाल टेलिभिजनमा स्ट्रीन्जरका रूपमा काम गर्नु भएकाे थियाे । विभिन्न पत्रपत्रिकामा स्तम्भ र लेख लेख्दै आएका पत्रकार पौडेल पछिल्लो समय पोखरा हटलाइन दैनिक पत्रिकाकै प्रकाशक तथा सम्पादकका रूपमा कार्यरत हुनु हुन्थ्याे । स्वर्गीय पौडेलका आमा, श्रीमती र एक छोरा छन् ।


उहाँकाे निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी, जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको छ भने महासंघले उदयीमान पत्रकार नेता गुमाएको छ । कास्की जिल्लाबाट पत्रकारिता क्षेत्रमा राम्रो पहिचान बनाएका पौडेलको निधनले नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको महासंघको ठहर छ ।
केन्द्रीय सदस्य पौडेलको निधनमा महासंघ केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने केन्द्रीय समितिले निर्णय गरेको छ । जसअन्तर्गत माघ २ गते सोमबार महासंघका केन्द्र, प्रदेश र सबै शाखा कार्यालय बन्द गरियो भने १३ दिनसम्म शोकसभा बाहेकका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने र १३ दिनसम्म केन्द्रीय कार्यालयलगायत प्रदेश र शाखा कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापा जिल्लामा लागु औषधको घटना बढ्दै
Next post युक्रेनमा हेलिकप्टर दुर्घटना : गृहमन्त्रीसहित १८ जनाको मृत्यु