१० माघ २०७९,धनगढी– बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्याँमा केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पका कारण एक जनाको मृत्यु भएको छ । गौमुल गाउँपालिका-२ की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सूर्यबहादुर थापाले जानकारी दिनु भएकाे छ । घाँस काटिरहेको बेला भूकम्पका कारण माथिबाट खसेको ढुंगा लागेर राेकायाको मृत्यु भएको प्रहरीको भनाइ छ ।  भूकम्पले जिल्लाभर थुप्रै घरहरुमा आंशिक र पूर्ण क्षति भएको खबर आएको र विवरण संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार भूकम्पमा परी एक जना घाइते भएको र जिल्लाका सबै पालिकाका कतिपय भौतिक संरचनामा क्षति भएको छ । बाजुराको हिमाली गाउँपालिका बिच्छ्याँको मौलालाई केन्द्रबिन्दु बनाएर दिउँसो २:४३ बजे ५.९ म्यानिच्युडको भूकम्प गएको हाे । भूकम्पपछि सुरक्षित स्थानतर्फ भाग्न खोज्दा बझाङको जयपृथ्वी नगरपालिका वडा नं ११ का ५२ वर्षीय हरिकृण्ण जोशी घाइते भएका छन् । उनलाई उपचारका लागि धनगढी सिफारिस गरिएको छ ।

भूकम्पको धक्काले सदरमुकाम चैनपुरमा रहेको कृषि ज्ञान केन्द्रको भवन, जिल्ला अस्पताल, केही होटल र निजी घरमा पनि क्षति भएको छ । कृषि ज्ञान केन्द्रको भवनमा सशस्त्र प्रहरी बस्दै आएका छन् । यस्तै सुर्मा गाउँपालिकामा रहेको प्रहरी चौकीको भवनमा पनि क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रमेश अवस्थीले बताउनु भयाे । भूकम्पका कारण जयपृथ्वी नगरपालिका, बुङगल नगरपालिका, सुर्मा, मष्टा, तलकोट, खप्तडछान्ना, थलारा र साइपाल गाउँपालिकास्थित थुप्रै निजी घर र विद्यालय, स्वास्थ्य चौकी जस्ता सार्वजनिक संरचनाहरुमा क्षति पुगेको विवरण आइरहेको प्रहरीले जनाएको छ । भूकम्पले जिल्लाभर टेलिफाेन सेवामा अवरूद्ध बनेकाे छ । यस अघि कात्तिकको तेस्रो साता डोटीमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए । साथै उक्त भूकम्पपछि सयौं परकम्प गइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *