भारतबाट अनुदामा पाएकाे काेभिड शिल्ड पाँचाै दिनसम्म ८८ हजारले लगाएः चीनकाे अनुदानमा ३ लाख खाेप आउने

चीनकाे अनुदानमा ३ लाख खाेप आउने

१९ माघ २०७७,काठमाडौं- कोभिड-१९ विरुद्धको कोभिशिल्ड खोप पाँचौँ दिनसम्म ८८ हजार ७ जनाले लगाएका छन् । देशभर सवैभन्दा धेरै बागमती प्रदेशमा २८ हजार बढीले खाेप लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा १२ हजार ७६३, प्रदेश नं २ मा ११ हजार ५७, बागमती प्रदेशमा २८ हजार ६ सय ८३, गण्डकी प्रदेशमा १२ हजार ३११, लुम्बिनी प्रदेशमा १० हजार ७६०, कर्णाली प्रदेशमा ५ हजार ५ सय ५६ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ८७७ जनालाई खोप लगाइएको छ ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप यही माघ १४ गतेदेखि देशभर १ सय ८५ खोप केन्द्रबाट अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीसहित अन्यलाई दिन थालिएको हो ।

मन्त्रालयले पहिलो चरणमा प्राथकिमता प्राप्त लक्षित समूहमा पर्ने व्यक्तिमध्ये स्वास्थ्यकर्मीले काउन्सिल दर्ता, आधिकारिक परिचय पत्र र संस्थाबाट प्रमाणीकरण गरेको विवरण तथा अन्य व्यक्तिका हकमा सम्बन्धित कार्यालयले गरेको सिफारिश पत्र जिल्लाको स्वास्थ्य कार्यालयमा नाम दर्ता गरी खोप लगाउन आग्रह गरेको छ ।

स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले कोभिशिल्ड सुरक्षित र प्रभावकारी रहेको कुरा वैज्ञानिक अध्ययनले पुष्टि गरेको बताउनुभयो । खोप लगाएपछि केही व्यक्तिमा सामान्य असर देखिए पनि सुरक्षित र प्रभावकारी देखिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार ती सामान्य असरमा खोप लगाएको ठाउँमा दुख्ने र सुन्निने, टाउको दुख्ने, अल्छी लाग्ने, जीउ दुख्ने, जोर्नी सामान्य दुख्ने, शरीर चिसो भएको महसुस गर्ने र सामान्य ज्वरो तथा वाकवाकी लाग्ने असर समेत देखिएको बताइएकाे छ ।

उहाँले त्यस्ता असर देखिए पनि यी सबै केही समयपछि ठीक भएको जानकारी दिनुभयो । मन्त्रालयले कुनै त्यस्तो समस्या देखिए औषधिको व्यवस्थापनसहितको समूह राखिएको जनाएको छ । तथापि सामाजिक सञ्जाल र सरकारले बनाएकाे खाेप कार्डका कारण खाेप लगाउन मानिसहरू डराएकाे स्वास्थ्य विष्लेशकहरूले बताउँदै अाएका छन् ।

चीनबाट ३ लाख खाेप ल्याइने

यस्तै चीन सरकारले कोभिड-१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ ।

अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको नेपालमा रहेकाे चिनियाँ राजदूतावासले जानकारी दिएकाे छ ।

विश्व स्वास्थ्य सङ्गठन निर्धारण गरेको मापदण्डअनुरुप चीनमा उत्पादित उक्त खोपको प्रभावकारिता उच्च रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आइतबार २८८ डिस्चार्ज १०५ संक्रमित थपिए
Next post म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकी पक्राउ