बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव शुरु

५ फाल्गुण २०७९, झापा– झापाको बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव शुरु भएको छ । दुई सय भन्दा बढी व्यापारिक स्टलहरु रहेको महोत्सवको उद्घाटन सभामुख देवराज घिमिरेले गर्नु भएको छ । महोत्सवमा नेपाल सहित भारत, वंगलादेश र पाकिस्तानको समेत व्यवसायिक स्टलहरु रहेका छन् । आगामी फागुन १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा ४५ करोड रुपैयाँ बरावरको कारोबार हुने अपेक्षा गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक राजु न्यौपानेले बताउनुभयो ।

महोत्सवको उद्घाटन गर्नु हुँदै सभामुख घिमिरेले आर्थिक रूपमा देश समृद्ध बनाउनका लागि सरकार र नीजि क्षेत्र दुवै मिलेर चुनौतिहरूको सामना गर्नु पर्ने बताउनु भयो । उहाँले देशको अर्थतन्त्र संकटमा पर्दै गएको र सभामुखको तर्फबाट संसदमा आर्थिक अवस्था सुधारका लागि भूमिका निर्वाह गर्ने बताउनुभयो । बजेटको २० प्रतिशत बजेट कटौति गर्न अर्थ मन्त्रालयले पत्रचार गरेको अवस्थाले मुलुकको अर्थतन्त्र धरासायी बन्ने संकेत गरेको भन्दै सभामुख घिमिरेले अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्र एक जुट भएर अघि बढ्नु पर्ने धारणा राख्नुभयो ।


यस्तै कार्यक्रममा उपसभामुख इन्दिरा राना मगरले बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव प्रदेश १ कै गौरवको विषय भएको बताउनुभयो । उहाँले सबै पक्षको सहकार्यमा महोत्सव सफल हुने बिश्वास ब्यक्त गर्नुभयो । उपसभामुख रानाले समृद्ध मुलुक निर्माणका लागि कृषि उत्पादनमा लाग्नु पर्ने,महिला उद्यमीहरूले आत्मनिर्भर हुँदै सीप हस्तान्तरण गर्दै जानु पर्ने बताउनु भयो ।

कार्यक्रममा प्रदेश नम्वर १ का उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला, सार्क चेम्बर अफ कमर्शका उपाध्यक्ष तथा नेपाल वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल, संविधानसभा सदस्य मनकुमार गौतम, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हेमराज ढकाल, कमला श्रेष्ठ, नेपाली कांग्रेस झापाका जिल्ला सभापति देउमान थेवे, नेकपा एमालेका नेता छविलाल विश्वकर्मा लगायतले शुभकामना मन्तव्य राख्नु भएको छ । यसैबीच बिर्तामोड उद्योग वाणिज्य संघले सभामुख घिमिरे र उपसभामुख रानालाई सम्मान समेत गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा संचालित नेपाली हाते कागज उद्योग संकटमा पर्दै (फाेटाे फिचर)
Next post प्रेस यूनियन क्षेत्रीय समितिकाे अध्यक्षतामा पाैडेल चयन