समयमा सडक नबन्दा सास्तीः ३० बर्षमा पनि बनेन दमक रवि चिसापानी सडक(फाेटाे फिचर)

१६ चैत्र २०७९/डिकेश लामा

३ दशकदेखि निर्माण थालिएको दमक रवि चिसापानी सडकले तोकिएको म्यादभित्र यस बर्ष पनि पूर्णता पाउन सकेन । ३ प्याकेजमा १ अर्व ३५ करोडमा लागेको ठेक्काको निर्माण कार्य नसकिँदा हिउँदमा धुलो र बर्षामा हिलोको सास्तीले स्थानीय समस्यामा परेका छन् ।

पटक पटक म्याद र रकम थप हुँदै आएको दमक रवि चिसोपानी सडक तोकिएको समयमा आधा पनि काम भएको छैन । पूर्वी नेपालको झापाको दमक देखि पहाड जोडिने छोटो र छिटो मार्गको रुपमा हेरिएको सडकको काम गएको फाल्गुन १ गते सकिनु पर्ने हो । तर सडक नबन्दा धेरै सास्ती भोग्नु परेको स्थानीय बासिन्दाले बताएका छन् । स्थानीय माङ्सेबुङ वडा नं. ३ का धनविर राईका अनुसार ठेकेदारको लार्पावाही कै कारण समयमा सडक बन्न नसकेको हो । सडक नबन्दा हिउँदमा धुलोले छोपेर सडक आसपास बसोवास गर्न नसकिने अवस्था रहेको छ भने बर्षामा हिलोले आवातजावात गर्नै समस्या भएको बताउनु भयो । अर्की स्थानीय मधुमाया राईका अनुसार भोट माग्ने वेलामा दमक रवि चिसापानी सडक बनाउने भन्दै भनेको धेरै पटक भयो । तर सडक बनाउने भन्ने नारामा भोट माग्ने बाटो मात्र बन्न पुगेको उहाँले बताउनु भयो ।

सडक निर्माणको काम अझै पनि तिव्ररुपमा हुन सकेको छैन । भौगोलिक विकटता र कोरोनाको कारणले ढिलो भएको निर्माण कम्पनि लुम्बिनी गणपति जेभीका इन्जिनियर वशिष्टकुमार माझीले बताउनु भयो । माझीका अनुसार भौगोलिक विकताले गर्दा बारम्बार पहिरो खस्ने र त्यसलाई व्यवस्थापन गर्नु पर्ने कारणले पनि समयमा सडक बन्न नसकेको उहाँले बताउनु भयो ।

३ प्याकेज मध्ये सवै भन्दा धेरै काम भएको १९ नम्बर प्याकेजको तोकिएको समयमा आधा जति काम भएको छ । तर यो प्याकेजको १५ किलो मिटर सडक समेतले म्याद थप गरेर अव एक बर्षमा मात्र सकिने अवस्था रहेको सडक रेखदेख गर्दै आएको सडक डिभिजन दमक कार्यालयका इन्जिनियर सुधिरकुमार झाले बताउनु भयो । अव एक बर्षको म्याद थपेर सो अवधिमा सडक निर्माण सक्ने गरी काम लगाउने उहाँले दावी गर्नु भयो ।

झापाको दमक देखि इलाम हुँदै पाँचथर जोडिने दमक रवि चिसा पानी सडक विक्रम सम्बत् २०५० साल देखि निर्माण थालिएको हो । तर झण्डै ३० बर्षमा ३७ किलो मिटर सडक नबन्दा पहाड र तराई गर्ने यात्रुको हैरानी हट्न नसकेको उनीहरुले गुनासो पोख्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पत्रकार महासंघ झापाको वेबसाइट सार्वजनिकः मर्यादित र व्यवसायिक पत्रकारिताकाे विकासमा जोड
Next post बाइकसँगै डुवेर दमकमा एक जनाको मृत्यु