समयमा बाँध निर्माण नहुँदा दर्जनाैं बस्ती जोखिममा (फाेटाे फिचर)
२४ जेष्ठ २०८०/पर्वत तामाङ
दक्षिणी झापा नदि तथा किनारा क्षेत्रका बासिन्दाहरु यस बर्ष पनि बाढीको उच्च जोखिममा रहेका छन् । हिउँदको समयमा निर्माण गरिने बाँध बनाउँन ढिला सुस्ती हुँदा बस्तीहरु जोखिममा रहेको बाढी पीडितहरुले बताएका छन् । ठेक्का लागेको बाँध समेत समयमा निर्माण हुँदा जोखिम बढ्दै गएको हो ।
गएको बर्ष आएको बाढी बस्ती पसे पछि घर छाडेर ज्यान जोगाउन सफल भएका गौरादह डुवाहटोलीका बासिन्दा यस बर्ष बाढी आउँदा कता भाग्ने भन्ने चिन्तामा छन् । बाढीले मुख्य बाँध नै फुटाएर बस्ती पसे पछि विचल्नीमा परेका उनीहरु यो बर्ष बाँध निर्माण नहुँदा चिन्तामा परेका हुन् । झण्डै १२ किलो मिटर लम्बाईमा १९ स्थानमा बाँध निर्माण गर्न २ बर्ष अधि नै एशियाली विकास वैंकको ऋण अनुदान सहयोगमा झापामा ठेक्का लागेको थियो । चाइनिज कम्पनी एच. जेट. एम. सी. सहित मैनाचुली रोशन जेभीले लिएको ७० करोडको ठेक्का योजनाको काम आधा पनि भएको छैन । हालसम्म ४५ प्रतिशत हाराहारीमा मात्र काम भएको जनताको तटबन्ध कार्याक्रमका प्रमुख यादब बरालले बताउनु भयो । बरालका अनुसार आवश्यक बजेट व्यवस्थापन नहुँदा धेरै जसो जोखिम क्षेत्रमा काम गर्न नसकिएको उहाँले बताउनु भयो ।
यता ठेक्का लागेको गत बर्ष उच्च जोखिममा परेको क्षेत्रमा समेत बाँध निर्माण हुन नसक्दा केही बस्ती जोखिममा परेको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले बताउनु भयो । सुवेदीका अनुसार गत बर्ष बाढी पसेको क्षेत्रमा पनि स्थानीय स्रोत साधानको सहयोगमा बाँसको बाँध बनाइएको छ । तर ती अस्थायी बाँधको मात्र भरपर्दो नहुने उहाँले बताउनु भयो ।
झापाको कन्काई, रतुवा र मावा खोलाको दर्जन बढी क्षेत्रमा गएको बर्ष आएको बाढीले बाँध फुटाएर खोला बस्ती तर्फ पसेको छ । तर ती क्षेत्रमा हालसम्म उचित तटबन्ध हुन नसक्दा यस बर्षको बाढी सिधै बस्ती पस्ने खतरा बढेको जोखिम क्षेत्रका बासिन्दाले बताएका छन् । यस बर्षको बर्षातको मौषम शुरु भइसकेको छ । तर हालसम्म सरकारले बाँध निर्माण गर्न लगाएको ठेक्का समेत समयमा नहुँदा बस्ती बग्ने जोखिम बढ्दै गएको जोखिम क्षेत्रका बासिन्दाको भनाइ छ ।