इलामकाे पाथीभरा मन्दिरको रकम हिनामिनाकाे छानबिन गरिने

२४ जेष्ठ २०८०,इलाम– इलामको रोङ गाउँपालिकामा अवस्थित पाथीभरा मन्दिरमा धर्मावलम्बीले दान गरेको भेटी हिनामिना भएको भन्दै  गुनासो बढेपछि अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । सदस्यमा कोष तथा लेखा नियन्त्रण कार्यालय इलामका देवीचरण भण्डारी, सहरी विकास तथा भवन कार्यालयका तर्फबाट पशुपतिकुमार मण्डल, अडिटर किशोरकुमार ताम्राकार रहेका छन् । बाँकी एक सदस्य रोङ गाउँपालिकाले तोक्ने बताइएको छ ।

गाउँपालिका र सर्वदलीय बैठकबाट नै स्थानीय तहबाट अपारदर्शी हिसाब छानबिन गर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाइएको थियो । पत्र आएपछि सत्यतथ्य पत्ता लगाउन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो । पाेखरेलका अनुसार २५ दिनकाे समय माग गरिएकाले साे छानविन माग गरिएकाे अवधिमा सत्य तथ्य बाहिर अाउने बताउनु भयाे । पाथीभरा मन्दिरमा संरक्षण संस्थाले पाँच वर्षमा हिसाब गोलमाल गरेको भन्दै हिसाबको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय इलामले छानबिन समिति गठन गरेपछि प्रक्रिया अगाडि बढेको छ ।

संस्था दर्ता ऐन, २०३४ बमोजिम मिति २०५५ साल भदौ २५ गते सो संस्था दर्ता भएको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय इलामले सूचना जारी गर्दै भनेको छ, “कोल्बुङ इलामको अपारदर्शी कार्यपद्धतिउपर नगरिकस्तरमा समेत उठेको गुनासो सम्बोधनका लागि संस्था दर्ता ऐन, २०३४ को दफा १० (१) बमोजिम विस्तृत छानबिन गरी कानूनी अस्तित्व, कार्य सञ्चालनको अवस्था र आय–व्यय (नगद, जिन्सी) को अद्यावधिक विवरणसहितको यथार्थ प्रतिवेदन पेश गर्न सप्रजिअ ध्रुव कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरी कार्यादेश दिइसकिएको सबैमा जानकारी गराउँदै उक्त समितिलाई सरोकारवाला सबैबाट सूचना, समन्वय तथा सहयोग गर्न समेत अाग्रह गर्नु भएकाे छ ।

यता गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले प्रशासनको यो कदम स्वागतयोग्य भएको बताउनुभयो । यद्यपि दबाब नदिई चाहिँ गर्नै नहुनेजस्तो कार्य भएको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post समयमा बाँध निर्माण नहुँदा दर्जनाैं बस्ती जोखिममा (फाेटाे फिचर)
Next post अझै ५ दिनसम्म तापक्रम बढ्ने भएकाले सर्तक रहन पूर्वानुमान महाशाखाकाे अनुराेध