स्कुटरलाई ठक्कर दिँदा मृत्यु भए पछि बसमा आगजनी
२५ जेष्ठ २०८०, माेरङ– मोरङको उर्लाबारी-३ नयाँ मंगलबारेमा बस र स्कुटर एक आपसमा ठाेकिँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । बसको ठक्करबाट झापाको कमल गाउँपालिकाको वडा नम्वर-२ बस्ने वर्ष ३४ का पवन सुवेदीको घटना स्थलमै मृत्यु भएको हो । विहिबार दिउँसो करिव ३ बजे तिर पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व गइरहेको मे १ ख ३०३४ नम्वरको बसले विपरित दिशाबाट गइरहेको प्र-१-०१-०१३ प २९० नम्वरको स्कुटरलाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
दुर्घटना पछि चालकले लापरवाही गरी तिव्र गतिमा सवारी चलाएकोका कारण उर्लाबारी-पथरी सडक खण्डमा दुर्घटना बढेको भन्दै अाक्राेसित स्थानीय बासिन्दाले ठक्कर दिने बसमा आगजनी गरेका छन् । आगजनी बाट बसमा क्षति पुगेको छ । बसको आगो उर्लाबारी र पथरीशनिश्चरे नगरपालिकाको दमकलले नियन्त्रणमा लिएका थिए ।
यसैगरी करिब १ किलोमिटरको अन्तरमा पर्ने पथरीशनिश्चरे ०२ को जयचोकमा १० दिनको अन्तरालमा यस्तै सवारी दुर्घटना भएको थियो । सो घटनामा पथरीशनिश्चरे-२ का ५० वर्षे यज्ञ थापालाई बसले ठक्कर दिँदा उनको पनि घटना स्थलमै मृत्यु भएको थियो ।
घटनाका बारेमा प्रहरीले अनुसन्धान अगाडी बढाएको छ भने प्रारम्भिक अनुसन्धानका क्रममा तिव्र गतिका कारण बसले स्कुटरलाई ठक्कर दिएको हुन सक्ने प्रहरीले जनाएको छ ।