बाढी पहिराेमा परेर पाँचथर र ताप्लेजुङमा १० जना वेपता खाेजी कार्य जारीः दर्जन बढी घर परिवार विस्थापित (फाेटाे फिचर)
३ असार २०८०,पाँचथर– पूर्वी पहाडी क्षेत्रमा गए राति आएको बाडीका कारण १० जना वेपता भएका छन् । अविरल वर्षासँगै आएको बाढीले पाँचथरमा ६ जना बेपत्ता भएका छन् भने ताप्लेजङमा एकै परिवारकाे ३ सहित ४ जना वेपता भएका छन् । पाँचथरमा एक जनाकाे भने उदार गरिएकाे छ । पाँचथरकाे हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा बेपत्ता भएका छन् । उनीहरू स्थानीय हेवा ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत थिए । उनीहरू मध्यरातदेखि सम्पर्कविहीन भएको बताइएको छ । बाढीले ठूलो परिमाणमा भौतिक संरचनामा क्षति पुर्याएको छ । यस्तै बाढीले फिदिम ४ हेवा खोलामा गिटी कुटेर गुजारा चलाउँदै आएका अन्य चार जना जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।
बाढीले मेची राजमार्गअन्तर्गत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेवा खोला पुल बगाएको छ । यस्तै फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुईवटा मोटरेबल र एउटा झोलुंगे पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यस्तै याङवरक गाउँपालिकामा ८ वटा घरहरू बगाएको प्रहरीले जनाएको छ । पाँचथरमा कहाँ के कति क्षति भयाे भन्ने विषयमा विवरणहरू संकलन र उदार गर्ने कार्य भइरेकाे जिल्ला प्रहरी कार्यलय पाँचथरले जानकारी दिएकाे छ ।
यस्तै यता ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिराले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् । स्थानीय कमल कडरियाका अनुसार पहिराले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् । यसैगरी मेहेलेकै भरत तामाङसमेत बेपत्ता हुनुभएको छ । खोला छेउमा घर भएका तामाङले ठूलो वर्षा भएपछि बुवाआमालाई सुरक्षित क्षेत्रमा सारेर फर्किने क्रममा बेपत्ता भएकाे सिदिङ्वा गाउँपालिका उपप्रमुख बन्दना कडरियाले जानकारी दिनुभयो । मेहेलेका राजकुमार गौतमको एउटा घर बगेको छ भने अर्को घर जोखिममा छ । यस्तै देउकुमार लिङ्देन र गुमान राईको घर जोखिममा परेको छ भने मेहेले स्वास्थ्यचौकीको भवन पूर्णरूपमा पहिराले बगाएको उहाँले बताउनु भयाे ।
अहिले पनि निरन्तर वर्षा भइरहेकाले सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकाका अधिकांश नागरिक त्रसित छन् । बाढी र पहिराले जिल्लाका धेरैजसो सडक सञ्जाल पूर्णरूपमा अवरुद्ध छन् भने याम्फुदिन, खेवाङ, मेहेले, सुरुम्खिम, आङ्खोपसहितका ठाउँमा विद्युत्समेत ठप्प छ । मेची राजमार्ग र तमोर करिडोर क्षेत्रका विभिन्न क्षेत्रमा बाढी पहिरो आएपछि तराई जोड्ने सडक पनि अवरुद्ध बनेका छन् । थप क्षतिसहित यकिन विवरण आउन बाँकी छ ।
यसैगरी मैवाखोलामा आएको बाढीले दोभानबजार जोखिममा परेको छ । बाढीले बजार क्षेत्र कटान गरेपछि दुई घर उच्च जोखिममा रहेको स्थानीय प्रदीप पोखरेलले बताउनुभयो । उहाँका अनुसार दीपक धिताल र सुकबहादुर लिम्बूको घर उच्च जोखिममा छन् । बाढी सामान्यतया घटे पनि पानीको बहाव घटेको छैन । मध्यरातमा बाढी आएपछि बजारका आधाजसो घरपरिवार अन्तै सरेका छन् । बाढीले मेरिङ्देन गाउँपालिकातर्फ जाने खोला किनारको सडकसमेत बगाएपछि बाटो पूर्णरूपमा अवरुद्ध बनेको बताइएको छ ।
मैवाखोला–२ र ५ नं वडा जोड्ने खार्तेखोलाको झोलुङ्गे पुल बगाएको स्थानीयले बताए । रातभर अत्यधिक वर्षासँगै ठाउँ–ठाउँमा बाढी र पहिरो झरेपछि जिल्लाका अधिकांश गाउँघरका मानिस रातभर नै जाग्राम बस्नुपरेको छ । जिल्लाका सबै ठाउँमा वर्षा भएको थियो । बिहीबार रातिमात्र सिरीजङ्घा गाउँपालिकाको याम्फुदिनमा बाढीले क्षति पुगेको थियो । यहाँका पाँचवटा सरकारी कार्यालय स्थानान्तरण गरिएको छ भने १५ घरपरिवार अन्तै सरेर बसेकाे बाढी पीडितले बताएका छन् ।