झापाकाे माइ पश्चिमका पालिकाकाे बजेटकाे प्राथमिकता फरकः गौरादहको सवै भन्दा धेरै बजेट शिक्षामा (फाेटाे फिचर)

दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईं बजेट प्रस्तुत गर्दै

 

१० असार २०८०/सारासन्देश समाचार
झापाकाे माइ पश्चिममा रहेका पालिका मध्ये सवैभन्दा धेरै दमक नगरपालिकाले बजेट सार्वजनिक गरेकाे छ । यस्तै झापाको गौरादह नगरपालिकाले आगामी आर्थिक बर्षका लागि सवैभन्दा धेरै शिक्षा क्षेत्रमा बजेट विनियोजन गरेको छ । आइतबार भएको १२ औं नगरसभामा उपप्रमुख जलबर्षा राजवंशीले बजेट प्रस्तुत गर्दै कुल ७९ करोड ९२ लाख बजेटको ३७ दशमलव ६५ प्रतिशत बजेट रकम शिक्षामा विनियोजन गरेको बताउनु भएको छ ।
यस्तै बजेटले भौतिक पूर्वाधार तर्फ ३७ दशमलव २५ प्रतिशत विनियोजन गरेको छ । यस्तै यस पछि स्वास्थ्य, कृषि र विपन्न र पिछाडिएका समूदायको विकासमा अन्य बजेट विनियोजन गरिएको छ । स्वास्थ्यमा ११ दशमलव ५२ प्रतिशत, महिला बालबालिका, जेष्ठ नागरिक, आदिबासी अपाङ्ग, लक्षित बर्ग आदि तथा अन्यमा ४ दशमलव ३४ प्रतिशत बजेट विनियोजन गरिएको छ । यस्तै कृषि, पशु तथा सहकारी शीर्षकमा ६ दशमलव ०८ अर्थात २ करोड ९७ लाख बजेट विनियोजन गरिएको छ ।

गाैरादह नगरपालिकाकी उपप्रमुख जलबर्षा राजबंशी बजेट प्रस्तुत गर्दै

नगरप्रमुख छत्रपति सुवेदीको अध्यक्षतामा भएको सभामा अर्थ सम्बन्धी प्रस्तावलाई कान्र्यान्वयन गर्न आर्थिक विधेयक २०८० र विनियोजन विधेयक २०८० समेत पेश गरिएको छ । सभामा प्रस्तुत गरिएको बजेट र विधेयकलाई आगामी २४ गते हुने सभा मार्फत पारित गरिने गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले बताउनु भयो ।

दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि रु. १ अर्ब ८४ करोड १२ लाख ३९ हजार रुपैयाको वजेट सार्वजनिक गरेको छ । जसमध्ये चालु खर्च तर्फ रु १ अर्व १ करोड ९४ लाख ९७ हजार (५५ ३७ प्रतिशत) र पूँजिगत खर्च तर्फ रु ८२ करोड १७ लाख ४२ हजार (४४.६३ प्रतिशत) विनियोजन गरिएको जनाईएको छ ।
आज भएको नगरको तेर्हौ नगरसभामा नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले प्रस्तुत गरेको बजेटमा खर्च व्यहोर्ने श्रोत तर्फ नगरपालिकाको आन्तरिक आयबाट रु २४ करोड ९४ लाख ९२ हजार ,दमक अस्पतालको आन्तरिक आयबाट रु ३१ करोड , संघीय सरकारको अनुदान रु ९५ करोड ८९ लाख र प्रदेश सरकारको अनुदानवापत रु ४ करोड ८ लाख ८८ हजार प्राप्त हुने छ ।
राजश्व बाँडफाडबाट रु २७ करोड १९ लाख ५९ हजार र जनसहभागितावाट रु १ करोड रकम व्यहोर्ने गरी प्रस्ताव गरिएको छ ।

यसैगरी झापाको कमल गाउँपालिकाले कृषि उत्पादनमा बृद्धि कमलको समृद्धी भन्ने नारासहित कृषि बिकासका कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक बर्षका २०८०/०८१ का लागि पालिकाको तर्फबाट ७२ करोड २१ लाख रुपैया भन्दा बढीको बजेट प्रस्ताव गरेको छ । गाउँपालिकाको आइतबार शुरु १३ औं गाउँ सभा (अधिवेशन)मा अध्यक्ष हुकुमसिंह राईले प्रस्तुत गरेको नीति कार्यक्रममा आधारित रहेर उपाध्यक्ष प्रमिला न्यौपानेद्धारा सो बजेट प्रस्ताव गरिएको हो ।
गाउँ अधिवेशनको पहिलो सेसनमा गाउँपालिकाका अध्यक्ष राईले आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि उत्पादन बढाउने र शैक्षिक क्षेत्रको बिकासका लागि स्थानीय सरकारका तर्फबाट अख्तियार गरिने नीतिहरुको लामो फेहरिस्त प्रस्तुत गरेका छन ।
कृषि बिकासको सो नारालाई अघि सार्दै अध्यक्ष राईले आगामी ४ बर्ष भित्र किसान सुचिकरणको कामलाई पूर्णता दिईने, एक समुह एक कृषि उत्पादन, कृषि उपजको बजारीकरणका लागि समुह तथा सहकारीसँगको साझेदारीमा कृषि उपज संकलन केन्द्र सञ्चालनमा ल्याइने, अगुवा कृषकहरुका लागि रोजगार सेवा केन्द्रबाट श्रमिक ब्यवस्थापन गरी जैविक एवंम कमल युरिया साथै कमल प्राङ्गारिक मल उत्पादन गरी मल उत्पादन तथा वितरण गरी विद्यमान रासायनिकमलको प्रयोगलाई न्यूनीकरण गर्ने नीति अघि सारिएको छ ।

यता शिवसताक्षी नगरपालिकाकाे बजेट भने पेश हुन सकेकाे छैन । पाँच वडा अध्यक्षसहित ८ जना नगर सभा सदस्यको फरक मतका कारण झापाको शिवसताक्षी नगरपालिकाको १२औं नगर सभा स्थगित भएको छ। आगामी असार १३ गते दिउँसो १ बजे पुन बस्ने गरी नगर सभा स्थगित भएको नगरका प्रवक्ता बहादुर आङवोले बताउनु भयाे ।

नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष भास्कर न्यौपाने, मनोज खुलाल, भवानी विक्रम चेम्जोङ, सन्तकुमार फेउदिन र डिल्ली फेम्बुले नगरसभामा नगर प्रमुख रोशन थोप्राले ल्याएको बजेटमा फरक मत राख्नु भएकाे छ । उहाँहरूले साविकको वडा सिलिङ बजेट घटाएर ४० लाखमा झार्नु न्यायोचित नभएको तर्क राख्नु भएकाे छ । चालु आर्थिक वर्षको वडा सिलिङ बजेट ७५ लाख थियो । आगामी आवका लागि नगरले वडामा जाने बजेट घटाएर ४० लाखमा झारेको वडा अध्यक्षले गुनासो गरेका छन्।

यस्तै दक्षिणी भारतीय सिमासँग जाेडिएकाे गाैरीगंज गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि रु. ५२ करोड ९२ लाख ४९ हजार १ सय रुपैयाको वजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाकी उपाध्यक्ष पुजन न्याैपाने कुवँरले आज आईतवार गाउँपालिकाकाे १३ औं गाउँसभामा उत्त वजेट प्रस्तुत गर्नुभएकाे हाे ।
जसमध्ये चालु खर्चतर्फ ८ कराेड ७ लाख रूपैयाँ ( सुशासन तथा संस्थागत क्षमता विकाससहित) र पुँजीगत खर्च तर्फ १४ कराेड ३३ लाख रूपैयाँ विनियाेजन गरेकाे छ । त्यसैगरी वडागत वजेट सिलिङ्ग अन्तर्गत वार्ड नं. १ लाई ५१ लाख ५० हजार, वार्ड नं.२ लाई ५१ लाख ५० हजार, वार्ड नं.३ लाई ४७ लाख ५० हजार, वार्ड नं. ४ लाई ४४ लाख, वार्ड नं.५ लाई ४० लाख र वार्ड नं. ६ लाई ४५ लाख ५० हजार रूपैयाँ वजेट छुट्टाएकाे छ । सामाजिक विकास अन्तर्गत शिक्षामा २ कराेड ५६ लाख५४ हजार, स्वास्थ्यतर्फ ५ कराेड, आर्थिक विकास क्षेत्रमा १ कराेड ३३ लाख रूपैयाँ बजेट छुट्टयाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पश्चिम नेपालमा चट्याङकाे घटना बढ्दैः २ दिनमा ४ जना मानिस र ४५ भेडा मरे
Next post नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउः हालसम्म पक्राउ परेकाहरूलाई कस्तो कार्बाही हुन्छ शरणार्थीकाे प्रश्न ?