
ललिता निवास प्रकरणका आरोपी तीन जनाद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता
१४ असार २०८०,काठमाडौं– ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका चारमध्ये तीन जना बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च पुगेका छन् । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले तीन जनाले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेको जानकारी दिनुभयो । उहाँका अनुसार यसरी रिट लिएर जानेमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतम रहेका छन् । उक्त रिटमाथि शुक्रबार सुनुवाइ हुने जनाइएको छ ।

विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो । सोही प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ ।
यता हिजाे बसेकाे प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले ललिता निवास जग्गा प्रकरणका मुख्य दोषीलाई पनि कारबाही गर्न सरकारसंग माग गर्नुभयो । सांसदहरू राजेन्द्रकुमार केसी, रामहरि खतिवडा लगायत ढिलै भए पनि भ्रष्टचारीलाई कानुनी दायरामा ल्याएको पर्ति दन्यबाद दिंदै पक्राउ परेका साना माछा मात्र नभई ठुला माछालाई पनि छाड्न नहुने बताएका छन् ।