माओबादी पार्टीकाे सल्लाहकार सीता दाहालको राजकीय सम्मानसाथ अन्त्येष्टि (फाेटाे फिचर)
२६ असार २०८०, काठमाडौं– नेकपा माओवादी केन्द्रका सल्लाहकार सीता दाहालको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालका पत्नी दाहालको आज पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको हो । उहाँको पार्थिव शरीरमा नेपाल सरकारको तर्फबाट उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय झण्डा ओडाएर सम्मान प्रकट गर्नु भएकाे छ । दाह संस्कारमा नेपाली सेनाको टुकडीले शोक सलामी अर्पण गर्दै स्वर्गीय दाहालप्रति सम्मान समेत प्रकट गरेको छ ।
आर्यघाटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उहाँका छोरीहरु रेणु र गंगा दाहाल, नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललगायत विभिन्न दलका शीर्ष नेताको उपस्थिति थियो । आर्यघाटमा श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका शीर्ष नेता, मन्त्री, सांसद, कर्मचारी, सर्वसाधारणको भीड बढ्दै गएको छ । दाहालको आज बिहान काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो ।
आर्यघाटमा श्रद्धाञ्जली अर्पण गर्नका लागि दाहालका आफन्तहरूसहित माओवादीका शीर्ष नेता तथा कार्यकर्ताहरू मंगलबार दिउँसो पेरिसडाँडामा पुगेका छन् । यस्तै राजनैतिक दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली, कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधव नेपाल लगायत नेताहरू सीतालाई श्रद्धाञ्जली अर्पण गर्न पशुपतिनाथ पुग्नु भएकाे छ । सारासन्देश परिवार दाहालकाे निधन प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।