कृषि यान्त्रिकीकरणोन्मुख बन्दै झापाः परियोजना मार्फत ६ बर्षमा २८ करोड उपकरणमा अनुदान

३० असार २०८०/डिकेश लामा

सरकारले ५० देखि ८५ प्रतिशत अनुदान दिए पछि झापामा ३ दर्जन हाराहारीमा कस्टम हायरिङ सेन्टर स्थापना भएका छन् । अन्नबालीको विऊ राख्ने, रोप्ने, काट्ने, सुकाउने देखि प्रशोधन समेत गर्ने यन्त्र उपकरण पाए पछि जिल्लामा खेती गर्न सहज बन्दै गएको छ । झापामा स्थापना भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषि आधुनिकीकरणका लागि मेशिन खरिदमा मात्र किसानलाई २८ करोड रुपयाँ अनुदान उपलव्ध गराई सकेको छ ।

परियोजना संचालन भएको ६ बर्षमा ८० प्रतिशत हारााहरीमा किसानहरुले मेशिनको प्रयोगबाट खेती गर्न थालेको परियोजना कार्यान्वयन इकाइ झापाका प्रमुख रविन्द्र सुवेदीले बताउनु भयो । उहाँका अनुसार परियोजना शुरुवात हुँदा ९० प्रतिशत किसानहरु गोरु तथा राँगाको प्रयोग गरी पराम्परागत तवरबाट खेती गर्ने गर्थे । तर हालसम्म आइपुग्दा ७० देखि ८० प्रतिशत झापाका किसानहरु उपकरणको प्रयोग गरी खेती गर्न थालेको बताउनु भयो । जिल्लामा हालसम्म २८ वटा ठूल्ठूला कस्टम हायरिङ्ग सेन्टर स्थापना भइसकेका छन् ।

झापा जिल्लामा यस बाहेक प्रदेश सरकार र सो माताहत रहेको कृषि ज्ञान केन्द्रले समेत यान्त्रिकरणमा ठूलो रकम अनुदानमा खर्च गरिसकेको छ । जिल्लामा हाल आएर धानको व्याड राख्ने, रोप्ने, काट्ने, थन्काउने देखि सुकाउनेसम्मको मेशिन औजारहरु प्रयोगमा आएका छन् ।सरकारले खासगरी कृषि समूह, संस्था र सहकारीलाई अनुदान उपलव्ध गराएको छ । यसले गर्दा कतिपय साना किसानमा कृषि यन्त्र तथा उपकरणको प्रयोग हुन सकेको छैन । मेशिनको प्रयोग गर्न थालेका किसानले भने लागत घटाउँदै उत्पादन समेत बृद्धि भएको उनीहरुले बताएका छन् ।

साना किसानकाे पहुँच पुग्न सकेन

कृषि सहकारी संस्थाका पहुँच नपुगेका किसान र थोरै जग्गामा खेती गर्ने किसानले भने मेशिन तथा उपकरणको प्रयोग गर्न सकेका छैनन् । परियोजना समेतले कुन मेशिनको प्रयोग गर्दा कतिको प्रभावकारी हुन्छ भन्ने कुरा समेत परिक्षण गर्दैमा धेरै खर्च भएको छ । विगत बर्षमा खरिद भएका कतिपय मेशिनले हाल आएर काम नगर्दा थन्काएर समेत राख्नु परेको महारानीझोडा साना किसान कृषि सहकारी मार्फत संचालित गौरादहको नमूना एकिकृत खेतीका व्यवास्थाप अर्जुन खतिवडाले बताउनु भयो । खतिवडा अनुसार शुरुमा खरिद गरिएको धान रोप्ने मेशिनको विऊ लगाउने उकरण विग्रिएको छ । तर सो सामान मर्मत गर्न बजारमा उपलव्ध नभएकोले २० लाख मुल्यको मेशिन त्यतिकै थन्किएको बताउनु भयो ।

नेपालमा प्रधानमन्त्री आधुनिकीकरण परियोजना संचालन भए पछि खेतका गरा सुधार देखि चाक्लाबन्दी कार्यक्रम समेत संचालन भएका छन् । तर तेस्रो मुलुकबाट भित्रिएका यन्त्र उपकरणबारे दक्ष प्राविधिक र मर्मतका लागि आवश्यक सामान नपाउँदा भने समस्या हुने गरेको यान्त्रिकरणमा लागेका किसानको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post अवैधानिक गर्भपतनले असुरक्षा बढ्दोः बर्षेनी १० लाख गर्भवती मध्ये झण्डै आधा अनिश्चित गर्भधारण
Next post च्याउ खेतीका लागि किसान आफै स्वदेशी विऊ उत्पादन गर्दैः बर्षेनी गर्मी बढ्न थाले पछि खेतीमा चुनौती (फाेटाे फिचर)