काेशी प्रदेशकाे मुख्य मन्त्री पुन थापा नियुक्तः विश्वासकाे मत पाउन संभव हाेला त ?

१६ साउन २०८०, विराटनगर– सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि सरकार निर्माणका लागि आवश्यक सांसद संख्या पुग्दा कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा दोस्रोपटक नियुक्त भएका छन् । एक महिनाअघि भएको उनको नियुक्ति सर्वोच्च अदालतले असंवैधानिक ठहर्‍याएपछि पुन: सुरु भएको प्रक्रियाअन्तर्गत थापा मंगलबार मुख्यमन्त्री नियुक्त भएका हुन् । यसपटक उनको नियुक्तिमा मुख्यमन्त्री हुनका लागि आवश्यक ४७ सांसदको समर्थन वैधानिकरुपमा नै प्राप्त भएको छ । विगतमा थापाले असंवैधानिक बाटो प्रयोग गर्दै सभामुखको हस्ताक्षर प्रयोग गरेर मुख्यमन्त्री बनेका थिए । यसपटक नियुक्तिमा वैधानिकताको समस्या नभए पनि अबको ३० दिनभित्र विश्वासको मत पाउने संभावना भने जटिल देखिएकाे छ । यदि थापाले विश्वासको मत नपाए फेरि एक महिनापछि थापाको बहिर्गमन हुने जोखिम रहेकाे छ ।

मुख्यमन्त्री थापाले संविधानबमोजिम विश्वासको मत पाउने कुनै निश्चित छैन । कोशी प्रदेशसभा ९३ सदस्यीय छ । सरकार गठन र सञ्चालनका लागि साधारण बहुमत पुर्‍याउन ४७ सदस्यको समर्थन आवश्यक पर्छ । मुख्यमन्त्री थापाले मंगलबार कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४७ सांसदको समर्थनमा मंगलबार प्रदेशको मुख्यमन्त्रीमा थापा दोश्रो पटक नियुक्त भएका हुन् ।संविधानको धारा १६८ (४) बमोजिम मुख्यमन्त्री थापाले अब ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ । तर त्यसअघि हुन सक्ने सम्भावित राजनीतिक घटनाक्रमले प्रदेश सरकारको भविष्यमाथि प्रश्न चिन्ह खडा भएको हो ।

प्रदेश सरकार सञ्चालनका विषयमा सत्ता गठबन्धन दलभित्रै खटपट छ । यसअघि सभामुखलाई राजीनामा गराउने वा नगराउने भन्ने विषयमै नेकपा माओवादी केन्द्रभित्र विवाद भएको थियो । सभामुखले राजीनामा दिइसकेपछि अब प्रदेश सभा सञ्चालन उपसभामुख सिर्जना दनुवारको जिम्मामा पुगेको छ । दनुवार नेकपा एमालेबाट उपसभामुख भएकी हुन् । मुख्यमन्त्रीले विश्वासको मत लिनुभन्दा अगावै उपसभामुख दनुवारले पनि राजीनामा दिएर प्रदेशसभा सञ्चालनमा असहजता उत्पन्न भए मुख्यमन्त्री थापालाई विश्वासको मत पाउन कठिन हुन सक्ने नेताहरूले बताएका छन् ।

प्रदेशसभामा एमालेका ४० सदस्य छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ जना सदस्य छन् । गत निर्वाचनपछि एमालेले माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा सरकार बनाएको थियो । तर केन्द्रमा गठबन्धन फेरबदल भएपछि प्रदेशमा पनि एमालेको सरकार ढलेको हो । एमाले संसदीय दलका नेता एवम् तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएपछि गठबन्धनले संविधानले धारा १८६ (२) बमोजिम सभामुखको राजीनामा नगराई समर्थन लिएर थापालाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका थिए । २१ असारमा प्रदेश प्रमुख परशुराम खापुङले सभामुखको समर्थनमा थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

त्यसबारे अदालतमा रिट परेकोमा सर्वोच्चका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले ११ साउनमा सभामुखले दिएको मत असंवैधानिक भएको भन्दै अर्को सरकार गठनको प्रक्रिया अगाडि बढाउन आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post अव झापाका किसान आफैले वास्नादार चामाल विक्री गर्नेः यो बर्ष वास्नाधार धान रोप्ने किसान समेत बढे(फाेटाे फिचर)
Next post डेङ्गु नियन्त्रणका लागि धरान भित्रका विद्यालय बन्दः झापामा पनि बढ्दै डेङ्गु