डेङ्गु नियन्त्रणका लागि धरान भित्रका विद्यालय बन्दः झापामा पनि बढ्दै डेङ्गु

१७ साउन २०८०,सुनसरी– सुनसरीको धरान उपमहानगरपालिकामा डेङ्गु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मङ्गलबार बसेकाे कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो । विद्यालयमा पठनपाठन बन्द गरी डेङ्गु नियन्त्रण अभियान चलाउने निर्णय गरेको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले जानकारी दिनुभयो । उपमहानगरले बिदाको बेला विद्यालयका शिक्षक, विद्यार्थीलाई डेङ्गु नियन्त्रणका लागि अभियानमा सहभागी गराउन आह्वान गरेको छ ।

बैठकले शिक्षक र विद्यार्थीसँगै सबै वडामा सामाजिक सङ्घसंस्था, टोल विकास समिति, स्थानीय समुदाय एकसाथ आ–आफ्नो वडाको टोलटोलमा खटिन अनुरोध गरेको छ । डेङ्गु फैलाउने एडिज एजिप्टाई जातको लामखुट्टेको फुल पार्ने स्थान, लार्भा र प्युपा बन्ने स्थान पहिचान गरी नष्ट गर्ने अभियान चलाउन विद्यालय बन्द गरिएको धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले बताउनुभयो ।

धरानमा डेङ्गुबाट गत जेठ तेस्रो सातायता एक बालिकासहित आठजनाको मृत्यु भइसकेको छ । निजी क्लिनिक, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतमा डेङ्गुका बिरामीले शय्या पाउन मुश्किल भएको छ । यही साउन १५ गतेसम्ममा ४ हजार दुई सय १८ जनाको जाँच गर्दा दुई हजार चार सय ९५ जनामा डेङ्गु पोजिटिभ पाइएको धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताउनुभयो । यस्तै यता झापा जिल्लामा समेत डेँगु राेग बढ्न थालेकाे छ । असार महिना यता गरिएकाे १ हजार १ सय २८ जनाकाे परिक्षणमा २ सय १८ जनामा डेँगु पाेजिटिभ देखा परेकाे स्वास्थ्य कायार्लय झापाका सूचना अधिकारी चुडामणी लुँइटेलले जानकारी दिनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post काेशी प्रदेशकाे मुख्य मन्त्री पुन थापा नियुक्तः विश्वासकाे मत पाउन संभव हाेला त ?
Next post मुख्यमन्त्री थापाद्वारा शपथ ग्रहणः पूर्व सभामुख गौतमसहित चार सदस्यीय मन्त्रीमण्डल विस्तार