२ दिन देखि परेकाे अविरल बर्षामा ५ जना वेपताः पहिराेले यातायत देखि हवाइ उडान समेत प्रभावित (फाेटाे फिचर)

२८ साउन २०८०, सारासन्देश समाचार– शनिबारदेखि परेको अबिरल बर्षाका कारण बर्दिया जिल्लामा तीन जना बेपत्ता भएका छन् भने बाढी र डुवानका कारण २ सय ५७ घर प्रभावित भएका छन् ।

बबई नदिमा आएको बाढीमा बगेर आएको दाउरा समात्ने क्रममा बर्दिया जिल्लाको गुलरिया नगरपालिका २ पण्डितपुरका महेश चौधरी, वडा नं. ८ थपुवाका अक्षय थारु र वडा नं. १२ भैसाहीका बालकृष्ण थारु बेपत्ता भएका हुन् । उनीहरुको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरिक्षक सुधिरराज शाहीले जानकारी दिनुभयो ।

त्यसैगरी अबिरल बर्षातका कारण खोलाको पानी पसेर बारबर्दिया नगरपालिका दुधामा ४० घर भगतपुरमा २२ घर र गुलरा गाउँमा १५ घर गरी बारबर्दिया नगरपालिकामा मात्र ७७ घरधुरी प्रभावित भएका छन । बाँसगढी नगरपालिका रेशमपुरमा ६० घर र कुनैठीमा १ सय २० घर गरी बाँसगढी नगरपालिकामा १ सय ८० घर प्रभावित भएको जिल्ला आपतकालिन संचालन केन्द्र बर्दियाले जनाएको छ ।

यसैगरी दोलखामा खोलाले बगाउँदा बुबा–छोरा बेपत्ता भएका छन् । खोलाले बगाउँदा बिगु गाउँपालिका–७ का निम्फुन्जो शेर्पा र उनका छोरा बेपत्ता भएका हुन् । गाउँ नजिकैको जङ्गलमा निउरो टिप्न गएका दुवैजनालाई खोला तर्ने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिनुभयो ।

यस्तै पहिराेका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्गअन्र्तगत दमौली–डुम्रे सडक खण्ड दुईतर्फीरुपमा सञ्चालनमा आएको छ । तनहुँको व्यास नगरपालिका–१२ स्थित बेलभञ्ज्याङ्गमा माथिबाट पहिरा खस्दा आज दिउँसो १२ः३० बजेदेखि राजमार्ग अवरुद्ध बनेको थियो । केही दिनदेखिको अविरल वर्षाका कारण उक्त सडक खण्डमा पहिरा खसिरहेकाले पटकपटक अवरुद्ध हुने गरेको जिल्ला प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।आज करिब दुई घण्टाको प्रयासपछि राजमार्गको पहिरा हटाएर आवागमन सञ्चालन गरिएको उहाँले बताउनुभयो । यता हेटाैडा देखि काठमाण्डाैं जाने छाेटा दुरीकाे सडकमा समेत धेरै स्थानमा पहिराे जाँदा सडक अवरूद्ध भएकाे छ ।

यता बाराको निजगढमा अबिरल बर्षाका कारण बकैया खोलामा आएको बाढीले एक दूध बोक्ने गाडी बगाएको छ । बिहान १२ बजे निजगढ वडा नं. १० झोलुङ्गे पुलस्थित लालखोलामा प्र.न. ३–०२ च ३९० न को दूध बोक्ने पिकअप गाडी बगाएको हो । सिमराबाट लालगाउँतर्फ दूध लिनको लागि जाँदै गरेको अबस्थामा खोलाले बगाएको हो । गाडीमा चार लाख बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।

यसैगरी निरन्तरको वर्षाका कारण मौसम प्रतिकुल हुँदा देशभरिकै विभिन्न विमानस्थलबाट हुने उडान प्रभावित भएको छ । काठमाडौंको मौसम तुलनात्मक रुपमा कम प्रतिकूल रहेको भएपनि अन्य विमानस्थलको मौसम विग्रिदाँ करिब १५ प्रतिशत उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा खराब मौसमकै कारण दुइवटा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन भने अन्य विमानस्थलको मौसमका कारण धेरैवटा आन्तरिक उडानहरु प्रभावित भएका छन् । देशभरि दैनिक सरदर ८० वटा अन्तर्राष्ट्रिय र १०५ वटा आन्तरिक उडान हुने गरेकोमा त्यसमध्ये १५ प्रतिशत उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पर्यटनसँग ग्रामिण पत्रकारितामा जोडः सतासी साप्ताहिकको १३ औं बार्षिकोत्सव सम्पन्न (फाेटाे फिचर)
Next post १२ बर्षमा ६० प्रतिशत मात्र कन्काइ पुल निर्माणः पुल नबन्दा डुङ्गाकै भरमा गरिने जोखिम यात्रा उस्तै (फाेटाे फिचर)