वेमौषमी तरकारीबालीको वेग्लै आकार्षणः मौषमी भन्दा ५ गुणा बढी मुल्यमा विक्री (फाेटाे फिचर)
२७ भदौ २०८०/डिकेश लामा
सरकारले समेत टनेल निर्माणमा सहयोग गरे पछि झापाका किसानहरुले पछिल्लो समय वेमौषमी तरकारी खेतीलाई जोड दिन थालेका छन् । मौषमी सागसब्जी भन्दा राम्रो मुल्य पाउने भए पछि किसानहरु वेमौषमी तरकारी खेतीमा लागेका हुन् । बर्षातको समयमा खुल्ला क्षेत्रमा तरकारीबाली हुर्काउन समस्या हुन्छ । तर सरकारको सहयोग पाए पछि टनेल भित्र किसानले वेमौषमी तरकारीबाली धमाधम उत्पादन गर्न थालेका छन् । कमल गाउँपालिका वडा नं. १ बाह्रविगेका किसान लोकबहादुर पाण्डेले यो बर्ष बोडी, रायो साग, तोरी, करेला लगायतका वेमौषमी तरकारीबालीबाट राम्रो आम्दानी समेत लिन सफल हुनु भएको छ । मौषमी तोरी तथा रायो साग प्रति केजी ३० रुपयाँमा विक्री गर्न समस्या भोग्ने किसानले यो वेला प्रति केजी १ सय देखि १ सय २० सम्म विक्री भएको किसानले बताएका छन् ।
यस्तै गौरादह नगरपालिका क्षेत्रका किसानले समेत वेमौषमी तरकारी खेती थालेका छन् । कतिपय किसानले आफ्नै लगानीमा व्यवसायिक खेती थालेका छन् । खेतीबाट एक सिजनमा २ देखि ४ लाखसम्म कमाइ गर्ने गरेको गौरादह नगरपालिका वडा नं. ७ मा विदेशबाट फर्किएर च्याउ तथा अन्य तरकारी खेती गर्दै आउनु भएका नविन बाँस्तोलाले बताउनु भयो ।
जिल्लामा तरकारी खेती गर्ने यूवा किसानको संख्या समेत बढ्दै गएको छ । तर भारतीय सागसब्जी सस्तो मुल्यमा भित्रने गरेकाले किसानले अझै पनि भने जस्तो मुल्य पाउन नसकेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो । विष्टका अनुसार बजारमा नेपाली किसानले निकाल्ने गरेको सागसब्जी भन्दा भारतबाट आएका सागसब्जी भन्दा लगानी महँगो पर्ने भएकाले पनि किसानहरु मारमा पर्ने गरेको बताउनु भयो ।
वेमौषमी तरकारी गर्दा अधिक मात्रमा प्राङगरिक तवरबाट खेती गरिन्छ । तर अर्गानिक तरकारीबालीको लागत रासायनिक मल लगाएको भन्दा धेरै हुने भएकाले एउटै बजारमा विक्री गर्नु पर्दा केही समस्या भएको दमक वडा नं. ९ को सेतुमारी कृषि सहकारी संस्थाका खेती संयोजक अर्जुन निरौलाले बताउनु भयो । निरौलाका अनुसार अहिले संस्थाले गर्दै आएको खेतीमा रासायनिक मलको प्रयोग पूर्णरुपमा बन्द गरिएको छ ।
झापामा जिल्लामा बर्षेनी तरकारी खेतीको क्षेत्रफल बृद्धि हुनेक्रम बढेर गएको छ । झण्डै १० हजार हेक्टर हाराहारीमा खेती हुँदै आएको जिल्लामा पछिल्लो समय वेमौषमी तरकारीबाली तर्फ समेत आकार्षण बढ्दै गएको किसानहरुको भनाइ छ ।