इलामकाे सानाे पाथीभरा मन्दिरको ८८ लाख रूपयाँ हिनामिना भएकाे अध्ययन प्रतिवेदन सार्वजनिक (भिडियाे सहित)

४ असाेज २०८०, डिकेश लामा– इलामको रोङ–३ मा रहेको पाथीभरा मन्दिरको भेटीबापतको ८८ लाख रुपैयाँ बढी रकम हिनामिना भएको अध्ययन सार्वजनिक गरिएकाे छ । जिल्ला प्रशासन कार्यालयको छानबिन प्रतिवेदन सार्वजनिक नभएपछि रोङ गाउँपालिकाले गठन गरेको अध्ययन समितिले भेटी, सुन, चाँदी र अन्य सहयोगबापतको ८८ लाख ८३ हजार १२४ रुपैयाँ रकम नभेटिएको विहीबार पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएकाे छ ।

गाउँपालिकाको अध्ययन प्रतिवेदनअनुसार समितिले आर्थिक वर्ष ०७५/७६ देखि ०७९ को माघ मसान्तसम्म पाथीभरा मन्दिरको कुल आम्दानी तीन करोड १४ लाख ६२ हजार ९२९ देखिएको छ । जसमध्ये खर्च दुई करोड २० लाख ९१ हजार २४२ रुपैयाँ भएको प्रतिवेदनमा उल्लेख छ ।  ०७५ असोजदेखि ०७९ माघ मसान्तसम्मको ८८ लाख ८३ हजार १२४ रकम मौज्दात रहनुपर्ने प्रतिवेदनमा उल्लेख छ। उक्त ८८ लाख ८३ हजार १२४ रुपैयाँ रकम कहाँ छ भनेर प्रतिवेदनमा उल्लेख नगरिएकाे अध्ययनमा खटिनु भएका छानविन समितिका सदस्य समेत रहनु भएका लेखा परीक्षक प्रज्वल अधिकारीले जानकारी दिनु भयाे ।

उक्त रकम पाथीभरा संरक्षण समितिले हिनामिना गरेको हुन सक्ने गाउँपालिकाको आशंका छ। ‘मौज्दात देखिएको रकम कहाँ छ भन्ने जवाफ पाथीभरा संरक्षण समितिले दिनुपर्छ,’ गाउँपालिकाले अध्ययनका लागि खटाएका लेखापरीक्षक अधिकारीले भन्नु भयाे, ‘हिसाब हेर्दा ८८ लाख ८३ हजार १२४ मौज्दात देखिन्छ। तर, त्यो पैसा कहाँ छ थाहा छैन।’  संस्था दर्ता ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय इलाममा दर्ता भएको पाथीभरा संरक्षण संस्थाले २०७३ सालदेखि नवीकरणसमेत गरेको छैन । उक्त संस्थाले लेखापरीक्षण गरे पनि हिसाब भने अपारदर्शी रहेको लेखापरीक्षक अधिकारीले बताउनु भयाे ।

गाउँपालिकाले निरन्तर दबाबपछि जिल्ला प्रशासन कार्यालय इलामले गत जेठ २३ गते सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। उक्त समितिमा गाउँपालिकाको तर्फबाट लेखापरीक्षक अधिकारी पनि सदस्य रहनु भएकाे थियाे । तीन महिना लगाएर समितिले इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई प्रतिवेदन बुझाएको थियो । तर, प्रतिवेदन सार्वजनिक गर्न प्रजिअ पोखरेलले आनाकानी गरेपछि गाउँपालिका आफैँले अध्ययन प्रतिवेदन बिहीबार सार्वजनिक गरेको हो ।

यता इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले प्रशासन मन्दिरमा भएको अनियमितता ढाकछोप गर्न नलागेको दाबी गर्नु भएकाे छ । ‘प्रशासनले नै छानबिन समिति बनाएको हो। कसरी प्रशासनले ढाकछोप गर्छ? ढाकछोप गर्ने भए त छानबिन नै हुने थिएन नि!’ उहाँले भन्नु भयाे, ‘हामी अध्ययनको चरणमा छौँ। उपयुक्त समयमा सार्वजनिक गर्छौँ।’

कार्यक्रममा उपाध्यक्ष विष्णुमाया खवासले ५ बर्षमा ३ कराेड अाम्दानी देखाइएकाे छ । तर हालै अाएर पालिका मार्फत बनेकाे समितिले ७ महिनामा १ कराेड ६ लाख रकम संकलन भएकाे हिसाब सार्वजनिक गरेकाे अाधार मात्र हेर्ने हाे भने पनि धेरै रकम हिनामिना भएकाे बताउनु भयाे ।

गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वाेले जिल्ला प्रशासन कार्यालयले तयार भएकाे प्रतिवेदन पनि सार्वजनिक नगरी अालटाल गरेकाे र अपचलन भएकाे रकम खाेजी गर्न चासाे नदिएकाे बताउनु भयाे । स्याङ्वाेका अनुसार बारम्बार पत्र लेखेर जवाफ माग गर्दा पनि अटेर गरे पछि अध्ययन प्रतिवेदन सार्वजनिक गरी सत्य तथ्य बारे गाउँपालिकाबासी, भक्तजन र सराेकारवालालाइ जानकारी गराइएकाे बताउनु भयाे ।

हेराैं धार्मिक आस्था राखेर जम्मा भएकाे भेटीबारे कस्ताे प्रतिवेदन सार्वजनिक भयाे भन्ने भिडियाे ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौँको माइतीघरमा शिक्षकहरूकाे प्रदर्शन
Next post बर्षेनी हराउँदै सिमा स्तम्भः पूर्नस्थपनामा छैन सरकारकाे चासो (फाेटाे फिचर)