भारतबाट आयात घटेसँगै स्थानीय माछाको बजारमा मुल्य बृद्धि (फाेटाे फिचर)
१० माघ २०८०/डिकेश लामा
लामापालिकाहरुले समेत भारतीय माछा विक्रीमा कडाई गरे पछि झापामा स्थानीय माछाको मुल्य बृद्धि भएको छ । जिल्लाका केही पालिकाले भारतबाट ल्याइने मरेका माछा विक्रीमा रोक लगाए पछि माछा व्यवसायी देखि किसानलाई समेत लाभ मिलेको छ । यस्तै नेपालको सुदुर पूर्वको ठूलो नाकाको रुपमा परिचित मेची भन्सार कार्यालयबाट विगत १ बर्ष अघि देखि भारतीय माछा आयात पूर्णरुपमा बन्द भएको छ । सरकारले माछा आयातमा नयाँ नीति कार्यान्वयनमा ल्याएसँगै देशका धेरै नाकाबाट भारतबाट आयात हुने मरेका माछा घटेको छ । मेची भन्सार कार्यालय झापाका प्रमुख रामप्रसाद रेग्मीका अनुसार १ बर्ष अघिसम्म दैनिक ठूलो परिमाणमा भारतबाट माछा आउने गरेको भए पनि १ बर्ष यता एक गाडी पनि माछा नभित्रिएको बताउनु भएको छ ।
विगत बर्षमा सामान्यतय प्रति केजी ३ देखि ३ सय ५० रुपयाँमा विक्री हुने माछा यो बर्ष ४ देखि ५ सय रुपयाँ केजीमा विक्री हुँदै आएको छ । बजारमा भारतीय माछा रोकिए पछि किसानले थोक मुल्य समेत राम्रो पाएको लामो समय देखि माछा पालन गर्दै आउनु भएका कमल गाउँपालिकाका किसान दिलिप ताजपुरियाले बताउनु भयो । त्यसो त उपभोक्ता समेत सचेत बन्दै गएका छन् । मरेको माछामा नकुहिने विषादीको प्रयोग हुन्छ भन्ने चेतना बढ्दै गए पछि ताजा माछा लिन कतिपय उपभोक्ता माछा फार्ममै जान थालेका छन् ।
अघिल्ला बर्षहरुमा भारतबाट झापाको काँकडभिट्टामा रहेको मेची भन्सारको बाटो भएर गाडीका गाडी माछाहरु आयात हुन्थे । तर पछिल्लो १ बर्ष यता भन्सारबाट माछा आयात पूर्णरुपमा रोकिएको छ । अन्य नाका भएर आउने माछा पनि धेरै कम भएको पशुपंक्षी तथा मत्स्य विकास निर्देशानलय कोशी प्रदेशकी मत्स्य विकास अधिकृत नेलसन पोखरेलले बताउनु भयो । पोखरेलका अनुसार सरकारले नै कडाइ गरे पछि भारतबाट आयात हुने माछा धेरै कम भएको छ । पछिल्लो समय कोशी प्रदेशमा झण्डै ६० प्रतिशत माछा मदेश प्रदेशबाट आयात हुने गरेको उहाँले बताउनु भयो ।
संघीयता पछि झापामा माछा व्लक कार्याक्रममा यस अघि सरकारले ३ करोड हाराहारीका अनुदानका कार्याक्रमहरु संचालन गरेको छ । व्लक विस्तारले माछा उत्पादनमा लागेका किसान भारतीय माछाका कारण मारमा पर्दै आएको थिए । तर पछिल्लो समय माछाको बजार राम्रो हुन थाले पछि किसानहरु उत्साहित भएको उनीहरुको भनाइ छ ।