विऊ उद्योगले गौरादहका धेरै किसानलाई रोजगारीसँगै आम्दानी (फाेटाे फिचर)
१३ मंसिर २०८०/डिकेश लामा
कोशी प्रदेशमै समूदाय स्तरमा बृहत रुपमा संचालनमा ल्याइएको विऊ प्रशोधन उद्योगले किसान देखि स्थानीय बासिन्दालाई उद्यमी बनाएको छ । महारानी झोडा साना किसान कृषि सहकारी फार्मत संचालित उद्योगले विऊ खरिद विक्री देखि स्थानीय क्षेत्रमा धेरैलाई रोजगारी समेत सृजना गरेको छ ।८ बर्ष अघि देखि झापाको गौरादहमा साना किसानहरुले शुरु गरेको विऊ उद्योगले ५ सय हाराहारीमा किसान तथा कर्मचारीलाई रोजगारी सृजना गरेको छ । सरकारको झण्डै ३ करोड अनुदानमा साढे ७ करोड लगानी गरेको उद्योगले यस बर्ष मात्र झण्डै १ करोड मुनाफा कमाउन सफल भएको सहकारी संस्थाकी अध्यक्ष मिनाकुमारी ढकालले बताउनु भयो । ढकलाका अनुसार यो बर्ष ८७ लाख खुद नाफा विऊबाट मात्र भएको छ । यस बाहेक संस्थाले कृषि उपार्जनबाट अन्य उद्योगबाट समेत मुनाफा लिन थालेको बताउनु भयो । विऊमा काम गर्ने किसानलाई ५ तरिकाबाट फाइदा दिने गरेको उहाँले बताउनु भयो । गौरादह क्षेत्रका किसानले विऊ रोप्न लाँदा देखि विक्री गर्न ल्याउँदा समेत कृषि प्राविधिक देखि आर्थिक अनुदान दिने गरेको उहाँले बताउनु भयो ।
भारतबाट आउने ठूलो परिमाणको विऊलाई प्रतिस्थापन गर्ने ध्येयले महिलाहरु मात्र सदस्य रहेको सहकारीले सफलता लिँदै आएको छ । २२ प्रजातिका धान, मकै, गहुँ, घाँस, तेलहन तथा तरकारी बालीको विऊ समेत उत्पादन गर्दै आएको उद्योगका व्यवस्थापक हेमराज विष्टले बताउनु भयो ।
उद्योग स्थापना भए पछि हालसम्म १० वटा मेशिन संचालनमा छन् । ५ सय विगाह क्षेत्रमा किसानहरुले धान र मकैको विऊ उत्पादन समेत गर्दै आएका छन् । विऊ उत्पादन गर्न थाले पछि खाद्यन्यका लागि विक्री गरिने धान भन्दा धेरै राम्रो मुल्य पाएको किसानले बताएका छन् । विऊमा धान रोप्न थाले पछि खयन धान भन्दा धेरै राम्रो आम्दानी हुने गरेको पाटागाढा क्षेत्रका किसान इच्छाराम सापकोटाले बताउनु भयो ।
देशमा रोजगारी सृजना गर्न ठूलो उद्योग नै अनिवार्य हुँदैन भन्ने उदाहरण साना किसानहरुले देखाएका छन् । उद्योगले पछिल्लो समय बर्षेनी ७ करोड भन्दा धेरै मुल्यको विऊहरु देशका विभिन्न प्रदेशमा समेत विक्री गर्न सफल बनेको उद्यमीको भनाइ छ ।