यान्त्रिकरणले प्रशोधनसँगै प्याकेजिङ समेत गर्न थाले पछि सुपारी किसानमा उत्साह बढ्दै (फाेटाे फिचर)

१५ मंसिर २०८०/डिकेश लामा

केही बर्ष अघिसम्म पराम्परागत तरिकाले सुपारी प्रशोधन गरेर विक्री गर्ने झापाका किसानले पछिल्लो समय मेशिनबाट प्रशोधन गर्न थालेका छन् । मेशिनले प्रशोधन गर्दा धेरै सहज र छिटो काम गर्न सकेका किसानले पछिल्लो समय सुपारीको प्याकेजिङ तथा कटिङ गरेर विभिन्न साइजमा विक्री समेत गर्न थालेका छन् ।

स्थानीय क्षेत्रमै प्रशोधन र प्याकेजिङ समेत हुन थाले पछि सुपारी खेती गर्ने किसानमा थप उत्साह बढेको छ । सरकारले प्रशोधन मेशिनमा ५० प्रतिशत अनुदान उपलव्ध गराए पछि जिल्लामा किसानहरु आफैले मेशिन खरिद गरी सुपारी प्रशोधनसँगै प्याकेजिङ गरेर उपभोक्ताका माग अनुसारका प्याकेट बनाएर समेत बजारिकरण गर्न थालेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत झापामा सुपारी जोन कार्याक्रम संचालन भएको ५ बर्ष भएको छ । शुरुमा पराम्परागत तरिकाले सुपारी प्रशोधन गर्ने किसानले मेशिनबाटै सुपारी प्रशोधन गर्न थाले पछि खेतीमा किसानको आकार्षण बढ्दै गएको परियोजनाका वरिष्ठ कृषि अधिकृत रविन्द्र सुवेदीले बताउनु भयो । सुवेदीका अनुसार जिल्लामा सुपारी खेती गर्ने किसानको समूह तथा सहकारीसँगको सहकार्यमा २ बर्ष यता मेशिनको प्रयोगलाई जोड दिन थालेको बताउनु भयो । उहाँका अनुसार जिल्लामा अहिले प्रशोधन देखि काटेर सानो बनाउने र प्याकेजिङ समेत गर्ने मेशिन संचालनमा आएका छन् ।

कच्चा सुपारी पकाएर बोक्रा छोड्याएर विक्री गर्ने किसानले सरकारको ५० प्रतिशत अनुदानमा २० देखि ४० लाख मुल्यका मेशिनहरु खरिद गरी संचालन गर्न थालेका छन् । मेशिन खरिदले किसानहरु सुपारीका अन्य परिकार समेत बनाएर विक्री गर्न सक्षम बन्दै गएको बुद्धशान्ति गाउँपालिका वडा नं. १ मा संचालित श्रीकृष्ण सुपारी सहकारी संस्थाका सदस्य खिमनाथ गौतम्ले बताउनु भयो ।

सुपारीमा किसानको आकार्षण बढ्न थाले यस बर्ष कृषि ज्ञान केन्द्र झापाले समेत सुपारीको यान्त्रिकरणमा बजेट विनियोजन गरेको छ । सुपारीको उद्योग संचालनका लागि ४० लाख बजेट विनियोजन गरिएको केन्द्रका प्रमुख सागर विष्टले बताउनु भयो । २ वटा सुपारीका कृषि समूह वा सहकारीलाई अनुदान दिई सुपारीको गुणस्तर बृद्धि गरी नेपाली बजारमा आन्तरिक खपत बढाउने लक्ष्य अनुसार कार्यक्रम संचालन थालिएको उहाँले बताउनु भयो ।

झापा जिल्लामा नेपालकै ८० प्रतिशत झण्डै ३ हजार हेक्टरमा सुपारी खेती हुँदै आएको छ । बार्षिक ९ अर्वसम्मको कारोवार हुँदै आएको सुपारीमा उद्योग संचालनले किसानलाई खेतीमा थप आकार्षित गरेको उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post शरणार्थी र स्थानीय बासिन्दाकाे सँयुक्त खेतीलाई प्रभावकारी बनाउन उच्च स्तरीय छलफल
Next post नक्कली भुटानी शरणार्थी प्रकरणबारे उच्च अदालतकाे मिश्रित आदेश: केही धराैटी र केही थुनामा रहने