तन्तु प्रजनन् विधिबाट आलुको उन्नत पूर्व मुल विऊ उत्पादनमा जोड (फाेटाे फिचर)

१७ मंसिर २०८०/डिकेश लामा

झापामा अधिक मात्रमा भारतीय आलुका विऊहरु रोप्ने किसानले पछिल्लो समय स्वदेशी विऊ उत्पादनमा जोड गर्न थालेका छन् । दमकको मानसरोबर कृषि सहकारी संस्थाले सरकारको झण्डै २ करोड अनुदान सहयोगमा निर्माण गरेको हाइटेक टनेल भित्र व्यवसायिकरुपमा आलुको मुल विऊ उत्पदान कार्य थालिएको छ ।

सिसा बट्टा भित्र तन्तु प्रजनन् विधि तयार गरिएका आलुका विऊहरु पूर्व मुल विऊ उत्पादन गर्नका लागि ल्याबबाट निर्माण गरिएको विरुवाहरु हुन । विज्ञानको भाषामा टिष्यु कल्चर सिष्टमबाट तयार गरिएको विरुवाबाट पूर्व मुल विऊ उत्पादन गर्दा रोगसँग लड्ने र उत्पादन क्षमता अधिक हुने गरेकाले यो प्रविधिको विऊ रोपेर आलुको विऊ उत्पादन गर्न थालिएको छ । देश भर यस्ता ल्याबबाट उत्पादन गरेर विऊ बनाउने केन्द्र ७ वटा मात्र रहेको एपेक्स वायोटेक एण्ड एग्रो फरेष्ट्री सेन्टर खुदुवारीका प्राविधिक प्रशोधन निरौलाले बताउनु भयो । निरौलाका अनुसार पहिलो पटक धान जसरी रोपिएको विरुवाबाट फल्ने आलु पहलिो पुस्ता बनिन्छ । सो विऊलाई पुन अर्को साल रोपे पछि दोस्रो पुस्ताको विऊ तयार हुन्छ । यसरी क्रमश ४ बर्ष रोपे पछि मात्र खयनका लागि उपयोगी आलु उत्पादन हुने गरेका छन् ।

यस पटक सेन्टरले दमक वडा नं. ३ मा रहेको मान सरोबर कृषि सहकारीको हाइटेक टनेलमा ३० हजार विरुवा रोपेको कृषि प्राविधि रुपेश रिजालले बताउनु भयो । कानेपोखरी– ६ रमाइलो स्थायी ठेगाना भएका रिजालले कृषि विषयमा अध्ययन गरेर मान सरोवरमा कृषि प्राविधिकको रुपमा रहनु भएको छ । उहाँका अनुसार यो प्रविधिबाट उत्पादन भएको विऊ भारतबाट आउने विऊ भन्दा धेरै गुणस्तर र राम्रो फल्ने बताउनु भयो । भारतबाट ल्याइएका विऊहरु अधिकांश विऊका लागि भन्दा पनि खयन आलुकै साना दानालाई प्रयोग गरिने गरेको उहाँले बताउनु भयो ।


धान रोपे जसरी एउटा एउटा विऊको केस्रा छानेर आलु रोप्दा पहिलो पटक काम सिक्ने किसानलाई समेत अनौठो लागेको छ । ३० हजार विरुवा रोप्ने ध्येयले काम थालेको क्षेत्रमा पूर्व मुल उत्पादनमा स्थानीय किसानले समेत सहयोग गर्दै आएका छन् । नयाँ प्रविधिको आलुका विऊ रोप्न तथा सिक्न आउनु भएका स्थानीय बासिन्दा सुशिला भुषालका अनुसार विऊमा काम गर्दा नयाँ अनुभव बटुलेको बताउनु भयो । उहाँले यो तरिकाले आफ्नो जिवन पहिलो पटक आलु रोपेको र यसरी रोपिएको आलु भाइरस रहित हुने भएकाले धेरै राम्रो फल्ने बताउनु भयो ।

आलु रोप्ने यो सिजनमा नेपालमा भारतबाट आलुको विऊ अधिक मात्रमा आउने गर्दछ । तर विदेशबाट आयतित विऊ रोप्दा हुस्से लाग्ने, मर्ने तथा कम उत्पादन हुने भएकाले अव स्वदेशमै गुणस्तरीय उन्नत विऊ उत्पादन गर्ने तर्फ किसान लाग्नु पर्ने अर्गानिक खेतीका कृषि प्राविधिक दधिबल चापागाँईंले बताउनु भयो । चापागाँईका अनुसार अव हरेक कृषि सहकारी तथा समूहले तन्तु प्रणालीबाट उत्पादन भएको विऊ रोप्ने हो भने भारतीय विऊको आयात प्रतिष्थापनसँगै नेपालमै धेरै आलु उत्पादन गर्न सकिने स्वस्थ्य विऊ उत्पादन गर्न सकिने बताउनु भयो । तर यसका लागि सरकारले समेत आवाश्यक सहयोग र चासो दिनु पर्ने उहाँको भनाइ छ ।

झापामा गत बर्ष झण्डै १६ हजार हेक्टर क्षेत्रफलमा आलु खेती भएको छ । केही बर्ष यता जिल्लामा आलु खेती बढ्न थाले पछि स्वदेशी विऊ विस्तारका लागि किसानले उन्नत विऊ उत्पादनको खेती समेत थालेको उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सञ्चार क्षेत्र लैंगिक हिंसा न्यूनीकरणमा अझ शसक्त बन्नु पर्नेमा जाेड
Next post शसस्त्र प्रहरीद्वारा झापामा सिमा स्तम्भ मर्मत तथा रंङराेगन शुरु (फाेटाे फिचर)