पत्रकार महासंघ झापाको ३५औं स्थापना दिवसमा संस्थापकहरुलाई सम्मानः ९ लाख बढी उपचार कोषमा सहयाेग(फाेटाे फिचर)

९ पुस २०८०, झापा– नेपाल पत्रकार महासंघ झापाको ३५औं स्थापना दिवस सोमबार बिर्तामोडमा मनाइएको छ । कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले उद्घाटन गरेको कार्यक्रममा महासंघ झापाको संस्थापक कार्यसमितिलाई सम्मान गरिएकाे छ । महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा शाखाका संस्थापक समितिका सचिव तथा पूर्व अध्यक्ष तारा बराल, संस्थापक समितिका सदस्य तथा पूर्व अध्यक्ष गोविन्द चन्द क्षेत्री र संस्थापक कार्यसमिति सदस्य मोहन ढुंगानालाई सम्मानपत्रद्वारा सम्मान गरिएको छ । ढुंगानाको सम्मान उहाँका छोरा पूर्व पत्रकार देवेन्द्रकिशोर ढुंगानाले ग्रहण गर्नु भएकाे छ । सहभागी सबैले सामुहिक रुपमा दिप प्रज्ज्वलन गरी महासंघको ३५औं स्थापना दिवसको उत्सव मनाइएकाे छ । कार्यक्रमकी प्रमुख अतिथि रानाले देशकाे परिवर्तन नै पत्रकारका काराण भएकाले पत्रकार र नेपाली पत्रकारितकाे विकासमा राज्यले चासाे दिनु पर्ने बताउनु भयाे ।

कार्यक्रममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवम् मुलुकमा परिवर्तनका लागि पत्रकार महासंघ झापाले निर्वाह गरेको भूमिकाको चर्चा गरिएको थियो । कार्यक्रमका वक्ताले नेपाली पत्रकारिताको इतिहासमा झापाली पत्रकारिताको स्थान र गरिमा उच्च रहेको र पत्रकारिताकाे विकासमा छाता संस्था महासंघलाई सवैले सहयाेग गरेर अगाडि बढ्नु पर्नेमा जाेड दिइएकाे छ ।
कार्यक्रममा पूर्व अध्यक्षहरुको तर्फबाट संस्थापक समितिका सचिव समेत रहेका बराल र सामाजिक संघ–संस्थाका तर्फबाट एकका लागि एक अभियानका सहसंयोजक तथा झापा गोल्डकपमा अध्यक्ष विनोद बस्तेले शुभकामना व्यक्त गर्नु भएकाे छ ।

सोही अवसरमा विभिन्न दाताहरुले महासंघले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई नगद तथा चेक हस्तान्तरण गरेका थिए । पत्रकार सहारा उपचार कोषका लागि उक्त कार्यक्रममा नौ लाख ११ हजार एक सय ११ रुपैयाँ जुटेको छ । छ लाख ३३ हजार एक सय ११ रुपैयाँ नगद तथा चेकबाट प्राप्त भएको छ भने विभिन्न दाताले कोषलाई दुई लाख ७८ हजार रुपैयाँ प्रदान गर्ने दाताले घोषणा गरेका छन् । उक्त कार्यक्रममा सामाजिक क्षेत्रमा क्रियाशील चारपानेका डिल्लीराम सिटौला, माया सिटौला र ध्रुव सिटौलाले परिवारको तर्फबाट एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् । त्यस्तै चारपानेका सामाजिक व्यक्तित्व नारायण राजवंशीले एक लाख एक हजार रुपैयाँ प्रदान गरेका छन् ।

सामाजिक अभियन्ता तथा व्यवसायिक क्षेत्रमा सक्रिय विनोद बस्नेतले एक लाख एक हजार रुपैयाँ प्रदान गरेका छन् । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ कोशीका उपाध्यक्ष कुमारमणि पोखरेलले एक लाख, वीरता जेसीजका पूर्व अध्यक्ष तथा हिमालय मेडिसिन सेन्टरका सञ्चालक यामकुमार खड्काले एक लाख, युवा व्यवसायी रोनक वंशलले एक लाख रुपैयाँ प्रदान गरेका छन् ।

चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमलीले ५० हजार रुपैयाँ प्रदान गरेका छन् । उनले यसअघि पनि कोषलाई ५० हजार रुपैयाँ प्रदान गरेका थिए ।

त्यस्तै मेची पेट्रोलियम डिलर्स एसोसिएसनका तर्फबाट अध्यक्ष नवीन कोइरालाले २५ हजार रुपैयाँ, मारवाडी सेवा समिति बिर्तामोडका अध्यक्ष सुरेश भद्रपुरेले २५ हजार, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष वेदप्रकाश अग्रवालले २१ हजार रुपैयाँ प्रदान गरेका छन् । मेची पेट्रोलियमले यसअघि कोषलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको थियो ।

कोषका लागि सामाजिक सेवामा सक्रिय व्यक्तित्वहरु भरतकुमार गिरीले ५१ हजार, जलकुमार गुरुङले ५१ हजार, कुमार गिरीले ५१ हजार, केदार गिरीले २५ हजार प्रदान गर्ने घोषणा गरेका छन् ।

केदार गिरीले यसअघि कोषमा ७५ हजार सहयोग प्रदान गरेका थिए । महासंघले केही समयभित्रै कोषलाई एक करोड पुर्याएर कोषका दाताहरुलाई संस्थापक घोषणा गरी सम्मान गर्ने तयारी गरेको अध्यक्ष एकराज गिरीले जानकारी दिए ।

पत्रकारको सामाजिक सुरक्षा र दीगो हित गर्ने उद्देश्यले स्थापित पत्रकार उपचार कोषमा सहयोज जुट्ने क्रम जारी छ । नागरिकलाई सूसुचित गराउन अहोरात्र खटिने पत्रकारहरुलाई घाइते र विरामी हुँदा उपचार खर्च दिने पत्रकार उपचार कोषको दाताहरुले प्रशंसा गरेका छन् ।

कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषलाई १ करोड पुर्याउन सहयोगका निम्ति महासंघले सबैमा अपिल गरेको छ ।

कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरु चिन्तामणि दाहाल, मोहन काजी, भीम नेम्वाङ, तारामणि सापकोटा, महासंघ तेह्रथुम शाखाका अध्यक्ष अमृत बाँस्तोला लगायत पत्रकारका संघ–संगठनका प्रमुख–प्रतिनिधि, सामाजिक तथा व्यवसायिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुको आतिथ्य रहेको थियो ।

उपाध्यक्ष केशव भट्टराईले औचित्यमाथि प्रकाश, उपाध्यक्ष सुशिला संग्रौलाले स्वागत गरेको कार्यक्रम सचिव डिकेश लामाले सञ्चालन गरेका थिए । सम्मानित व्यक्तित्वको सम्मानपत्र कार्यसमिति सदस्य स्वस्तिका आचार्यले वाचन गर्नु भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सिमसार संरक्षणबाट बनेको दमकको पुरानो इन्द्रेणी तालको विकास हुँदै (फाेटाे फिचर)
Next post झापामा सागसब्जीबाट स्वदेशमै विदेशमा भन्दा राम्रो कमाई (फाेटाे फिचर)