दमककाे बालुवाटारकाे सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने १७२ जनाविरुद्ध मुद्दा दायर

१३ फाल्गुण २०८०, काठमाण्डाैं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिकामा पर्ने सरकारी स्वामित्वको जग्गा व्यक्तिको नाममा दर्ता गरी अख्तियारको दुरुपयोग गरेको अभियोगमा नापीका कर्मचारी सहित १ सय ७२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
दमक नगरपालिका–१३ र १४ मा रहेको बालुवाटारको (रतुवा र दिपीनी खोलाको दोभानबाट उत्तरतर्फ) जग्गा गैरकानुनी रुपमा व्यक्तिका नाममा दर्ता गरेको बताइएकाे छ । सार्वजनिक जग्गाका रुपमा दर्ता गर्नुपर्ने ३ सय ९७ रोपनी ८ आना एक पैसा तीन दाम जग्गा गैरकानुनी रुपमा व्यक्तिका नाममा दर्ता गरेको पाइएको आयोगले जनाएको छ । सो जग्गा व्यक्तिविशेषका नाममा घुसाइ न्यूनतम मूल्याङ्कन रु ३४ करोड ६६ लाख ५४ हजार ८ सय ४९ कायम हुन आउने देखिएको अख्तियार आयाेगले जारी गरेकाे विज्ञप्तीमा उल्लेख्य गरिएकाे छ ।
सरकारी सार्वजनिक पदधारण गरेको नापी कार्यालय चन्द्रगढी झापाका कर्मचारी १०, मालपोत कार्यालय दमकका ११ कर्मचारी, नापी कार्यालय दमक झापाका ७, सरकारी जग्गा हालसाबिक गरी दर्ता गर्ने ३६ र बिगो असुल तथा जग्गा फिर्ता लिने प्रयोजनाका लागि १ सय ८ जना गरी कूल १ सय ७२ जनाविरुद्ध आयोगले मुद्दा दायर गरेको हो ।
आयोगले नापी कार्यालय चन्द्रगढी झापाका तत्कालीन नापी प्रमुख स्व शशिकान्त झा र निजको श्रीमती अनारदेवी झाविरुद्ध रु ३० करोड दुई लाख ७१ हजार नौ सय २६ बराबरको बिगो दाबी गरेको छ । सोही कार्यालयका तत्कालीन प्रमुख नापी अधिकृत  विष्णुकमार न्यौपानेविरुद्ध रु दुई लाख तीन हजार एक सय पाँच, प्रमुख नापी अधिकृत स्व संसारनाथ पाण्डे र निजको श्रीमती सावित्री पाण्डेयविरुद्ध रु ६७ हजार सात सय सात बराबरको बिगो दाबी गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेकाे हस्ताक्षरमा जारी विज्ञप्तीमा उल्लेख्य छ । यस्तै शुरूमा जग्गा व्यक्तिकाे नाम ल्याएकाहरू  रेवतराज पुरी सहित २८ जनालाइ २ लाख देखि ६ कराेडसम्मकाे विगाे दावी गरी मुद्धा दायर गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post एकिकृत नमूना खेतीमा हाइव्रिड मकैको विऊ उत्पादनमा जोड (फाेटाे फिचर)
Next post भजन शिरोमणि भक्तराज आचार्य सँधैका लागि अस्ताए