गौरादहका महिलाहरुले संचालन गरेको लघु उद्यमले गाऊँघरमै रोगजारी (फाेटाे फिचर)

१६ फाल्गुण २०८०/डिकेश लामा

५ बर्ष अघि सानो पूँजीबाट केही महिलाले थालेका लघु अचार उद्योगले पछिल्लो समय लाखौं लगानीमा उत्पादन थालेको छ । खाद्य गुणस्तर मापन गरेर बनाइने अचारको माग बढ्न थाले पछि स्थानीय क्षेत्रमा रोजगारी समेत सृजना भएको छ । ५ बर्ष अघि घरेलु तथा साना उद्योगमा तालिम लिँदा नमूना अचार उद्योगका ६ जना महिलाले तालिममा हौसल्ला स्वरुप केही अचार प्राप्त गरे । जुन अचार विक्री गरेर १८ हजार रुपयाँ हात लाग्यो । त्यहि रकमबाट घरबाट शुरु गरेको अचार उत्पादन आज ३० लाख बढीको लगानीमा देशका विभिन्न भागमा विक्री हुन थालेको नमूना अचार लघु उद्योगकी अध्यक्ष सकुन्तला घिमिरेले बताउनु भयो । घिमिरेका अनुसार अहिले आफूहरुको अचारका लागि छुट्टै भवन रहेको छ । जहाँ ३५ लाख हाराहारीको अचारका सामाग्रीहरु स्टकमा रहेका छन् । उद्योगमा आँप, अकवेर खुर्सानी, उमारेको मेथी, मिक्स र पेष्ट लगायतका परिकार अचारहरु उत्पादन हुँदै आएको छ ।

नेपालको एक मात्र कृषि पर्यटकीय क्षेत्र गौरादह नगरपालिका वडा नं. ५ को नमूना एकिकृत खेतीमा महिलाहरुले ५ प्रकारका लघु उद्यम संचालन गर्न थालेका छन् । कृषि क्षेत्रमा उद्योग संचालनले रोजगारी सृजना गरे पछि स्थानीय महिलाहरुलाई समेत आर्थिक उपार्जनमा टेवा पुगेको रोगगारीमा लाग्नु भएकी महिला कमला खनालले बताउनु भयो । खनालका अनुसार अचार उद्योगमा गरेको श्रमले घरव्यवहारमा ठूलो टेवा मिलेको छ ।

घरको सानो कोठाबाट शुरु गरेको अचार उत्पादन अहिले आफैले गुणस्तर मापन देखि ल्याव परिक्षण समेत गर्न थालेका छन् । स्वीस सरकार अन्तर्गत संचालित सहज नामको संस्थाबाट एसओपी अर्थात कसरी स्वच्छ र स्वस्थ्यकर बनाउने भन्ने मापदण्ड समेत पुरा गरेर अचार बनाइने गरिएको उद्योगकी सहजकर्ता अनिमा भण्डारीले बताउनु भयो । भण्डारीका अनुसार जीएपी अर्थात गुड हाइजिन प्राक्टिसका आधारमा स्वस्थ्यकर अचार निर्माण हुँदै आएको छ । अचार परिक्षणका लागि महिलाहरुले आफै ल्याव समेत संचालनमा ल्याएकाले अचारमा खाद्य तत्व मिलाउन समेत सहज भएको छ ।


देशमा केही अवसर छैन भन्नेहरुका लागि महिलाले घरको कामकाज भ्याएर थालेका लघु उद्यमले गर्नेका लागि गाउँघरमै बसेर पनि आर्थिक उपार्जन गर्न सकिन्छ भन्ने उदाहरण देखाएको छ । स्वदेशमै गर्नेका लागि सरकारले समेत बजारिकरणमा सहयोग गरे विदेशबाट आयात हुने खाद्य सामाग्री घटाउन सकिने उद्यमी महिलाहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post संस्थापक अध्यक्षकाे विषयमा गलत इतिहास सच्याउन पत्रकार महासंघलाई फोनिजको अल्टिमेटम
Next post च्याऊ खेतीबाट विदेशमा भन्दा राम्रो कमाइः बार्षिक १ करोड बढीको कारोवार गर्दै केही युवाहरु (फाेटाे फिचर)