नेपालमा पहिलो पटक झापामा व्यवसायिक लाहा खेतीः अन्य जिल्लामा समेत विस्तार हुँदै (फाेटाे फिचर)

२२ फाल्गुण २०८०/डिकेश लामा

व्यवसायिकरुपमा नेपालमा बृहतरुपमा पहिलो पटक लाहा खेती गर्ने झापाको गौरादहका किसानले अन्यत्र खेती विस्तार थाल्नु भएको छ । लाहा खेतीबाट पनि अन्नबाली भन्दा राम्रो कमाई गर्न सकिने भए पछि पराम्परागत तवरले अन्नबाली खेती गर्ने किसानले समेत खेती विस्तार गर्न थालेका छन् । लाहा भनेर धेरैले गाउँघरमा घरेलु हतियारको विड अड्याउने पदार्थकोरुपमा मात्र बुझेका छन् । तर लाहा वास्तवमा त्यतिमात्रै नभएर बृहत क्षेत्रमा प्रयोग हुने रुखमा छाडिएको किराबाट उत्पादन हुने उपयोगी बस्तु हो । जुन कुरा किसानले बुझ्न थालेको नेपालमै पहिलो पटक अभियानको रुपमा व्यवसायिक खेती थाल्नु भएका गौरादह नगरपालिका वडा नं. २ का किसान डम्बरबहादुर विश्वकर्माले बताउनु भयो ।

विश्वकर्माका अनुसार ५ बर्ष अघि देखि थालिएको खेती शुरुमा गाउँघरका छिमेकी नै यो काम लाग्ने खेती हौइन भनेर खेती नगर्न सुझाव दिन्थे । तर आज तिनै छिमेकीहरुले उद्योगको रुपमा लाहा खेती संचालन हुन थाले पछि रोजगारी समेत पाउन थालेका छन् । पछिल्लो समय जिल्लाका अन्य क्षेत्र र पूर्वी नेपालको धनकुटा, भोजपुर, इलाम, मोरङ्ग लगायतका विभिन्न स्थानमा आफूबाट खेती सिकेर विस्तार हुने क्रम बढेर गएको छ ।

भारतमा लाहा खेती सम्बन्धी भएको मेलामा सम्मानित हुनु भएका विश्वकर्माले अहिले ५ विगाह क्षेत्रमा खेती थाल्नु भएको छ । झापाको लाहा खेती हेरेर पछिल्लो समय पूर्वी नेपालको विभिन्न जिल्लामा विस्तार हुन थालेको खेतीका सहयोगी रोहित सेन्चुरीले बताउनु भयो । सेन्चुरीका अनुसार खेती विस्तार भएसँगै स्थानीय किसानले समेत खेती गर्ने तरिका सिक्न थालेका छन् । अझ रोजगारीमा आउनेहरुले धेरै ज्ञान प्राप्त गरेको उहाँले बताउनु भयो ।

नेपालमा कुसुमी र रंगेनी गरी दुई प्रकारको लाहा उत्पादन हुँदै आएको छ । लाहाबाट बन्ने चप्रा खासगरी काठमा प्राकृतिक तरिकाको रंगरोगन प्रयोग हुन्छ । यस बाहेक सिंगारका बस्तुहरु निर्माणमा समेत यसको प्रयोग हुने भएकाले यसको मुल्य समेत उच्च हुने गरेको छ । यसबाट बन्ने रंङका लागि प्रयोग हुने चप्रा भारतबाट बर्षेनी करोडौं रुपयाँको भित्रने भएकाले नेपालमै खेती विस्तार गर्न सके विदेश जाने रकम रोक्न सकिने किसानको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सहिद सप्ताह समापनः उपेक्षामा परेको सहिद तथा वेपत्ता परिवारको गुनासो (फाेटाे फिचर)
Next post शिक्षामा समानता खोज्दै स्थानीय सरकारः गौरादहले थाल्यो एकिकृत परीक्षा प्रणाली