विदेशी सुपारीले किसान तथा व्यवसायी मारमा: कराेडाैं मुल्यका सुपारी गाेदाममै थन्कियाे

१० जेष्ठ २०८१/बालदिवश तामाङ

झापामा करोडौं मूल्यका सुपारी यस बर्ष गोदाममा थन्किएका छन् । सरकारले विदेशी सुपारी आयात खुल्ला गरे पछि नेपाली किसानको सुपारीले बजार पाउन सकेको छैन ।
यस बर्ष किसानबाट खरिद गरेको सुपारी व्यवसायीले विक्री गर्न सकेका छैनन् । विदेशी सुपारी सस्तो मुल्यमा भित्रिए पछि व्यवसायीको करोडौं मुल्यका सुपारी प्रशोधन केन्द्रमै थन्किएको मेचिनगर नगरपालिका वडा नं. ४ का किसान तथा व्यवसायी हरिप्रसाद उप्रेतीले बताउनु भयो । उप्रेतीका अनुसार उहाँको प्रशोधन उद्योगमा खरिद गरेको सुपारी अहिलेको मुल्यमा विक्री गर्ने हो भने ३० देखि ४० लाखसम्म घाटा हुनेछ । तर घटेको मुल्यमा सुपारी विक्री गर्न खोज्दा पनि विक्री नभएकाले सुपारी व्यवसायीहरु ठूलो मारमा परेको उहाँले बताउनु भयो ।


झापाका दर्जनौं प्रशोधन केन्द्रमा काम गर्नेलाई रोजगारी दिन समेत यतिखेर समस्या भएको छ । ऋण गरेर खरिद गरेको सुपारीले बजार नपाउँदा समस्या आएको अर्का किसान हरिचरन चम्लागाँईले बताउनु भयो । चम्लागाँईंका अनुसार यो बर्ष सुपारीको विक्री नहुँदा आगामी बर्ष देखि किसानको सुपारी किन्न सक्ने अवस्था नहरने बताउनु भयो ।
खासगरी अघिल्लो बर्ष नेपाल सरकारको उच्च टोलीले नेपालको सुपारी परिक्षण गरी विदेश पठाउने भनी किसान तथा व्यवसायीमाझ समेत छलफल गरेको थियो । तर अहिलेसम्म परिक्षण र व्यापार नखुलाएको कारण नेपालको ८० प्रतिशत सुपारी उत्पादन हुने झापामा अर्वौं रुपयाँको नोक्सानी हुने देखिएको नेपाल सुपारी खेती विकास संस्थाका उपाध्यक्ष निलकण्ठ तिवारीले बताउनु भयो । सरकारले तत्काल विदेशी सुपारीको आयातमा रोक्का र सुपारीमा लाग्दै आएको मुल्य बृद्धि कर समेत हटाएर किसानलाई सिंचाईको व्यवस्था नगरेसम्म आर्थिक समृद्धिमा घाटा हुने बताउनु भयो ।


नेपालमा उत्पादन भएको सुपारीले बार्षिकरुपमा ९ अर्व रुपयाँ बढीको कारोवार गर्ने गरेको छ । सवै भन्दा धेरै उत्पादन हुने झापामा यस बर्ष विदेशी सुपारी आयातका कारण सुपारी विक्री हुन नसकेकाले तत्काल विदेशी आयात रोकिनु पर्ने किसानहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post मेची भन्सारमा लक्ष्य भन्दा कम राजश्व असुली
Next post देश विकासका लागि एकताको खाँचो रहेकाे नेकपा एमालेका अध्यक्ष ओलीकाे भनाइः दमकमा नयाँ नेतृत्व गठन हुने