लाहाबाट बन्ने सामाग्रीलाई गौरादह नगरको उच्च प्राथमिकताः श्रृङगारिक सामान उत्पादन गरिँदै(फाेटाे फिचर)

१६ जेष्ठ २०८१/बालदिवश तामाङ

झापाको गौरादह नगरपालिकाले लाहाबाट बन्ने सामाग्रीलाई उच्च प्राथमिकता दिएको छ । पछिल्लो समय नेपालमा व्यवसायिकरुपमा लाहा खेती हुन थाले पछि यसबाट बन्ने उत्पादनहरु बढाउन थालिएको हो । संभवत नेपालमै पहिलो पटक घरेलु विधिबाट लाहाका श्रृङगारिक सामानहरु बनाउने कार्य गौरादह नगरपालिकाले थालेको छ । पालिकाको झण्डै ३ लाख रुपयाँको सहयोगमा २० जना महिलाहरुलाई शीप सिकाउन थालिएको छ । भारतबाट दक्ष प्राविधिक झिकाएर थालिएको तालिम लिएर महिलाहरुले विभिन्न प्रकारका श्रृङगारिक सामाग्री निर्माण थालिएको छ ।

लामो समय देखि लाहा खेती गर्दै आउनु भएका गौराहद नगरपालिका वडा नं. २ का डम्बर विश्वकर्माले यो बर्ष देखि लाहाको बजार विस्तार गर्न थाल्नु भएको हो । सुन्दरता र विभिन्न प्रयोजनमा प्रयोग हुने लाहाको श्रृङगारिक सामान निर्माणले यसको बजार थप विस्तार हुने नेपालमै वृहतरुपमा लाहा खेतीमा लाग्नु भएको नगरपालिकाका कार्यपालिका सदस्य समेत रहनु भएका विश्वकर्माको दावी रहेको छ ।
उहाँका अनुसार भारतबाट कच्चा पदार्थ लाहा ल्याएर मधेस प्रदेसमा केही घरेलु प्रविधिबाट चुराहरु बनाउने गरेको भए पनि नेपालमा व्यवसायिकरुपमा स्थानीय स्तरमा उत्पादन गरिएको कच्चा पदार्थबाट सौन्द्धर्यका सामाग्री बनाउन थालिएको यो पहिलो पटक हो । सरकारले प्राथमिकता दिएमा विदेश जाने ठूलो रकम स्वदेशमै रोक्न सकिने र धेरैलाई रोजगार दिन सकिने उहाँले बताउनु भयो ।

केही बर्ष अघिसम्म लाहाको पनि खेती हुन्छ भन्ने कुरा धेरैलाई थाहा थिएन । तर हजारको लगानी गरेर खेती थाल्ने किसानले अहिले लाख कारोवार गर्न थालेका छन् । श्रृङगारिक सामान बनाउने तालिमले आफूहरुलाई धेरै कुरा सिकाएको सहभागी गौरादह नगरपालिका वडा नं. ५ की अनु थापाले बताउनु भयो । यस्तै गौरादह वडा नं. १ की लक्ष्मीदेवी विश्वकर्माका अनुसार अव केही थप तालिम लिन पाउने र कच्चा पदार्थ भने जति गौरादहमै उत्पादन हुने हो भने सयौं महिलालाई घरमै रोजगार सृजना गर्न सक्ने बताउनु भएको छ ।

लाहाबाट श्रृङगारिक सामान बनाउने कामका लागि दक्ष जनशक्ति नेपालमा छैनन् । जसका कारण भारतबाट पहिलो पटक प्रशिक्षक आएर तालिम दिइएको छ । तालिममा प्रशिक्षकको रुपमा भारतको जयपुरबाट आउनु भएका आस्लाम मनिहारका अनुसार भारतमा आफूले हजारौं महिलाहरुलाई तालिम दिएर रोजगारमुखी बनाएकाले नेपालमा पनि ठूलो संभवना रहेको बताउनु भयो । पहिलो पटक नेपाल आएर तालिम दिँदा आफूलाई समेत खुशी लागेको उहाँले बताउनु भयो ।

यस्तै गौरादह नगरपालिकाका प्रबक्ता वडा नं. १ का अध्यक्ष नगेन्द्र भण्डारीका अनुसार आफूहरुले गौरादह नगरपालिकाले आफ्नो ब्राण्डको रुपमा नेपालमै पहिचान बनाएर जान सकिने अवसरको रुपमा लाहा खेती र यसबाट बन्ने विभिन्न सामाग्रीहरु उत्पादनमा आफूले जोड दिएको बताउनु भएको छ ।

नेपालका विभिन्न बजारमा अहिले पनि भारतबाटै अधिक मात्रमा श्रृंगारिक सामानहरु आयात हुने गर्दछ । किसानले उत्पादन गरेको लाहाबाट यसरी विभिन्न प्रकारको सामान उत्पादन गर्न सके रोजगारसँगै आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने सामाजिक अगुवाहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सरकारबाट १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन (पूर्ण पाठ सहित)
Next post स्वदेशी उत्पादनलाई कर कम, मदिरा र सुर्तिजन्य बस्तुमा बृद्धि