सरकारविरुद्ध भ्रमपूर्ण प्रचारको पछि नलाग्न प्रधानमन्त्री ओलीको आग्रह

८ मंसीर २०७७, ताप्लेजुङ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गर्नुभएको छ ।

वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको जनाउँदै उहाँले यस प्रकारका हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो ।

फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको आज उद्घाटन गर्दै उहाँले सरकार मुलुकको समृद्धिका लागि चौतर्फीरुपमा लागिपरेको जनाउँदै देशको समृद्धि नचाहने मान्छे विभिन्न तत्व सरकारविरुद्ध लागेको बताउनुभयो । “हामी समृद्धिका लागि अघि बढिरहेका छौँ तर केही पक्ष लोकतान्त्रिक प्रणालीविरुद्ध भ्रम फैलाइरहेका छन्, यो कार्य त्रुटिपूर्ण हो”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

अर्काे प्रसङ्गमा उहाँले छिमेकी मुलुकसँगको सम्बन्धलाई सुदृढ गर्ने नीति सरकारले लिएको बताउनुभयो । छिमेकी भारतद्वारा मिचिएको भूमि फिर्ता लिन गर्न गरेको प्रयास, भारत र चीन दुवैसँगको सम्बन्धलाई अझ सुधार, बन्द नाका खोल्ने जस्ता कार्यले वर्तमान सरकार सफल हुँदै गएको उहाँको भनाइ थियो ।

उहाँले घुन्सा जस्तो दुर्गम गाउँ आगामी तीन वर्षमा नै सुगममा परिणत हुने बताउँदै यस क्षेत्रको विकासका लागि यातायातलगायत पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै हालसम्म कञ्चनजङ्घामा आउने पर्यटकका लागि लिनुपर्ने विशेष अनुमति प्रावधान खारेज गरिने र पर्यटकका लागि सो क्षेत्र खुला गरिने उहाँले बताउनुभयो ।

घुन्सावासीले राखेका विभिन्न मागलाई सरकारले ध्यान दिनेसमेत उहाँको भनाइ थियो । सो अवसरमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले घुन्सा आधारभूत विद्यालयका १० विद्यार्थीलाई रु पाँच लाखको छात्रवृत्ति दिनुहुने भएको छ ।

उहाँले ज्येष्ठ नागरिक तथा वृद्धवृद्धालाई न्यानो कपडासमेत वितरण गर्नुभएको थियो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता सुवास नेम्बाङलगायतको सहभागिता थियो ।

यस्तै यता नेपाल भारत सीमा क्षेत्रमा पर्ने जौबारी डाँडामा रहेकाे इलामको सन्दकपुर र माईजोगमाई गाउँपालिकाको संगमस्थलमा प्रधानमन्त्रीले गर्ने भनिएकाे बाेडर अाउट पाेष्ट उद्घाटनमा भने प्रधानमन्त्री उपस्थिति हुन सक्नु भएन । माैषमका कारण हेलिकप्टर ल्याण्ड गर्न नसके पछि प्रदेश नम्बर एकका अान्तिरक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उद्घाटन गर्नु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post आज ३०४३ निकाे १९८० संक्रमित थपिए
Next post खुशीकाे खबर अब ३ हप्ता पछि अमेरिकीहरूमा काेराेना विरूध्द खाेप लगाउन शुरू गरिने