बाढीले बगाउँदा ३० जलविद्युत् आयोजनामा आठ अर्ब रुपैयाँ भन्दा बढीको क्षति (फाेटाे फिचर)

९ असार २०८०,काठमाडौं– पूर्वी नेपालमा आएको बाढीले ३० जलविद्युत् आयोजनामा झन्डै आठ अर्ब ५० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।

यही असार १ र २ गते ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा र भोजपुर जिल्लामा आएको बाढीले चार सय ६३ मेगावाट क्षमताका ३० वटा जलविद्युत् आयोजनामा क्षति भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को प्रारम्भिक अध्ययनले देखाएको हो ।

उत्पादनमा रहेका एक सय ३२ मेगावाट क्षमताका १३ आयोजनामा करिब छ अर्बको क्षति भएको छ । उत्पादनमा रहेका आयोजनामध्ये सबैभन्दा धेरै क्षति २२ दशमलव एक मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत् आयोजनामा एक अर्ब बराबरको क्षति भएको आयोजनाका अध्यक्ष सीताराम तिमल्सिनाले जानकारी दिनुभयो । भौतिक हिसाबले सबैभन्दा धेरै क्षति भएको चार दशमलव सात मेगावाटको अपर पिलुवा–२ जलविद्युत् आयोजनामा ९० करोड बराबरको क्षति भएको छ । बाढीका कारण निर्माणाधीन १७ जलविद्युत् आयोजनामा दुई अर्बभन्दा बढीको क्षति भएको छ ।

निर्माणाधीन आयोजनामध्ये सबैभन्दा धेरै क्षति सुपर हेवाखोला जलविद्युत् आयोजनामा ८० करोड बराबरको भएको छ । सो आयोजना निर्माणका खटिएका १८ जना मजदुरलाई बाढीले बगाएर बेपत्ता बनाएको थियो । त्यसमध्ये अहिलेसम्म चार जनाको मात्र शव भेटिएको छ । कुल ९० प्रतिशत निर्माण पूरा भइसकेको आयोजनामा बाढीले क्षति पुर्‍याउँदा आयोजनाको पुनःनिर्माणमा डेढदेखि दुई वर्षसम्म थप समय लाग्ने आयोजनाका अध्यक्ष हर्कबहादुर तामाङले बताउनुभयो ।

यसै गरी बैशाखयता देशभर बाढी पहिरोका १ सय ४९ वटा घटनामा परेर २१ जनाको ज्यान गएको छ भने अझै २६ जना बेपत्ता छन् । बेपत्ताहरुको खोजी निरन्तर भैरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । बैशाखयता ८२ वटा पहिरो र ६७ वटा बाढीका घटना भएकोमा पहिरोका कारण १४ जनाको ज्यान गएको छ भने ५ जना बेपत्ता छन् । त्यस्तै बाढीमा परेर ७ जनाले ज्यान गुमाएका र २१ जना बेपत्ता रहेका प्राधिकरणको तथ्याङ्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post मनकामनामा नजिकै जन्ति बाेकेकाे बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, १२ जना घाइते
Next post नक्कली मदिरा सहित गाडी र दुई भारतीय पक्राउ