जैविक कृषि बजार संचालनमा ढिलाईः करोडौं रकम अनुदानमा थालिएको प्राङगरिक मिसन सुस्ताउँदै (फाेटाे फिचर)
१७ असोज २०८०/डिकेश लामा
प्रदेश र स्थानीय सरकारको ६ करोड बजेटमा निर्माण थालिएको प्रदेश स्तरीय जैविक कृषि बजार संचालनमा ढिलाई भएको छ । ४ बर्ष देखि निर्माण थालिएको बजार संचालनमा नआउँदा अर्गानिक खेतीमा लागेका किसानलाई समस्या भएको छ । झापाको दमक नगरपालिका वडा नं. ८ मा निर्माण भएको जैविक कृषि बजार प्रदेश स्तरीय कृषि बजार हो । प्रदेश भरीका अर्गानिक तरकारी संकलन र विक्री वितरण गर्ने लक्ष्यका साथ निर्माण थालिएको बजारको निर्माणको काम दुई पटक म्याद थप गरेर भए पनि निर्माणको अन्तिम चरणमा पुगेको छ । दमक नगरपालिकाका इन्जिनियर अनन्त सेनेहाङ्गका अनुसार सायद अवको एक देखि २ महिनामा काम सम्पन्न हुनेछ । तर यता दमक नगरपालिका भने बजार संचालनमा कुनै चासो देखाएको छैन ।
अर्गानिक बस्तुको छुटै बजार नहुँदा भने जस्तो मुल्य समेत पाउन सकेको छैन । बजार निर्माण भए पछि अर्गानिक खेतीमा लागेका किसानलाई सहज हुने अर्गानिक खेती गर्दै आएको सेतुमारी कृषि सहकारी संस्थाका व्यवस्थापक दिपक खनालले बताउनु भयो । खनालका अनुसार बजार चाँडै निर्माण भए आफूहरुले उत्पादन गरेको अर्गानिक कृषि उपार्जन समेत त्यहि बजारमा विक्री गर्ने बताउनु भयो । उहाँका अनुसार नगरपालिकासँग दुईवटा कोठाको कुरा गरेको भए पनि नगरपालिकाले बजार संचालनको विषयमा कुनै पनि कार्य विधि बनाएको छैन ।
पछिल्लो समय मानव स्वास्थ्यलाई ध्यान दिँदै सरकारले समेत अनुदान उपलव्ध गराए पछि धेरै किसानहरु अर्गानिक उत्पादनमा लागेका छन् । तर अर्गानिक उत्पादनको छुट्टै बजार संचालनमा आउन नसक्दा भने समस्या हुने गरेको प्राङगरिक मिसनका अगुवा महेन्द्र अधिकारीले बताउनु भयो । अधिकारीका अनुसार सरकारले प्राङगरिक मिसनमा उपलव्ध गराएको ठूला बजेटमा सरकारको अनुगमन र निरन्तर चासो नभएकाले सुस्ताउँदै गएको छ । सरकारले यस्ता कार्याक्रमले गति नलिएसम्म सहयोग गर्न छाड्ने हो भने बनाइएका संरचना समेत त्यतिकै खेर जाने अवस्था सृजना हुने उहाँले बताउनु भयो ।
झापा जिल्लामा सरकारले ठूलो रकम खर्च गरेर प्राङगरिक मिसन कार्यक्रम संचालन गरेको ५ बर्ष भएको छ । तर सरकार परिवर्तन हुदाँ बजेटमा निरन्तरता नभएकाले कतिपय राम्रा योजना संचालनमा समस्या भएको कृषि क्षेत्रका अगुवाहरुको भनाइ छ ।