
भूकम्प पीडितलाई एकिकृत कार्ययाेजनाबाट राहत वितरण गरिनेः जाजरकोटका ९ सय ५ घरमा पूर्ण क्षति(फाेटाे फिचर)

सिंहदरबारमा आज सम्पन्न मन्त्रिपरिषद्को आकस्मिक बैठकले खोज, उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउन सुर्खेतलाई मुख्य र नेपालगञ्जलाई सहायक सम्पर्क कार्यालय तोक्ने निर्णय गरेको बैठकपछि नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।


“दुई दिनभित्र सबै भूकम्पपीडित नागरिकसम्म पुग्नेगरी राहत सामग्री पठाएका छौँ, थप केही आउनेक्रम जारी छ”, उहाँले भन्नुभयो, “जसरी भूकम्पका घाइतेको उद्धार गरेका छौँ, सोही गतिमा राहत पनि वितरण गर्छौं ।” उपप्रधानमन्त्री खड्काले राहतलगत्तै पुनःनिर्माणको काममा सुरु हुने बताउनुभयो । उहाँले घाइतेहरूको उपचार सुर्खेत, नेपालगञ्ज र काठमाडौँमा भइरहेको बताउँदै उपचारमा कुनै किसिमको कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।

गत शुक्रबार राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण नलगाड नगरपालिकामा उपप्रमुख सिंहसहित ५५ जनाको ज्यान गएको थियो भने जाजरकोट र रुकुम पश्चिमका विभिन्न क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएको थियो । भूकम्पमा परी जाजरकोटमा मात्रै ३ हजार ६ सय ५० घरमा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटको प्रारम्भिक तथ्यांकअनुसार भूकम्पका कारण जाजरकोटमा मात्रै ९ सय ५ घर पूर्णरुपले क्षतिग्रस्त भएका छन् । प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार भूकम्पका कारण जिल्लाभर ३ हजार ६ सय ५० घरमा क्षति पुगेको हो । त्यसमध्ये ९ सय ५ घर पूर्णरुपले क्षतिग्रस्त भएका छन् भने २ हजार ७ सय ४५ घरमा आंशिक क्षति पुगेको तथ्याङ्क रहेकाे कार्यलयले जानकारी दिएकाे छ ।