प्रतिबन्धित प्लाष्टिकको फुलले बजार रंगियोः सरकारको अनुगमन फितलो हुँदा बजारमा प्रतिबन्धित सामानको कारोवार बढ्दो(फाेटाे फिचर)

२३ कार्तिक २०८०/डिकेश लामा

तस्बीरमा देखिएका साँच्चीका जस्ता देखिने फुलहरु सवै वातावरण प्रतिकुल हुने प्लाष्टिकका फुलहरु हुन् । बन तथा वातावरण मन्त्रालयले २०७९ सालको साउन १२ गते राजपत्र प्रकाशित गरी प्लाष्टिकजन्य फुलगुच्छाको उत्पादन, आयात, विक्री वितरण वा भण्डारण गर्न पूर्णरुपमा रोक लगाउने सूचना जारी गरेको छ । तर यतिखेर झापाका मुख्य बजारहरु भने प्लाष्टिकका फुलहरुले रंगिएका छन् । भारतसँग १४४ किलो मिटर खुल्ला सिमा जोडिएको झापाका मुख्य बजारहरुमा यस बर्ष विगतमा भन्दा धेरै प्लाष्टिकका फुलहरु भित्रिसकेका छन् । संघीय सरकारले राजपत्र प्रकाशन गरी प्लाष्टिकजन्य फुलहरु पूर्णरुपमा रोक लगाउने भने पनि कार्यान्वयन भने हुन सकेको छैन ।

दमक वडा नं. ६ मा २० बर्ष देखि व्यवसाय गर्दै आउनु भएका रमणकुमार शर्माका अनुसार यस बर्ष नयाँ खाले फुल हेर्दा प्राकृतिक फुल जस्तै देखिने फुल बजारमा आएको छ । ठूल्ठुला व्यवसायीले दमकमा भित्राए पछि आफूले खरिद गरी विक्री गर्न राखेको उहाँले बताउनु भयो । यस विषयमा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलका अनुसार सरकारले निषेध गरेका प्लाष्टिकजन्य फुल लगायत अन्य बस्तुहरु रोक्न अनुगमन भइरहेको र पाएमा तत्काल कार्वाही गरिने उहाँले बताउनु भयो ।

झापा जिल्लामा मात्र यस बर्ष करोडौं मुल्यका फुलहरु भारतबाट भित्रिएका छन् । कारोवार रोक्न राजपत्र प्रकाशन भए पनि बजारहरुमा प्लाष्टिकका फुलहरु आउने कारण संघीय सरकारले आयातमा कडाइ गर्न नसकेको दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईले बताउनु भयो । प्रसाईका अनुसार बजारमा आएका प्लाष्टिकका फुलहरु तत्काल निषेध गर्न नसकिने भएकाले यस कार्यमा संघीय सरकारका संरचना, उद्यमी, व्यवसायी र सामाजिक अभियन्ताले समेत ध्यान दिनु पर्ने उहाँले बताउनु भयो ।

फुलको पर्व तिहार र छठ नआउँदै प्लाष्टिकको फुलले बजार छोपे पछि खाटी फुलको व्यापार घट्न सक्छ । सस्तो मुल्यमा प्लाष्टिकका फुल पाउने भए पछि खेतीको फुलले बजार नपाउला कि भन्ने चिन्ता किसानलाई छ । दमक वडा नं. २ मा फुल खेती गर्दै आउनु भएकी स्नातक तह अध्ययन सकेर खाली समयमा यस बर्ष १ हजार विरूवाबाट फुल खेती गर्नु भएकी मिलन वान्तवा राईका अनुसार भारतीय बजारबाट भित्रने फुलले बजारमा केही समस्या ल्याउला भन्ने चिन्ता रहेकाे बताउनु भयाे ।

यस्तै लामो समय हंसेदुम्से सामुदायिक बनमा काम गर्नु भएका जेष्ठ नागरिक राेदन राइका अनुसार भारतबाट भित्रिएका प्लाष्टिकका फुलले बजारमा अरू फुलला असरमात्र नभएर पर्यावरणमा समेत धेरै असर हुने गर्छ । यस तर्फ सरकारले कडाइ नगरे जलवायु परिवर्तनमा समेत लामाे समय असर गर्ने उहाँले बताउनु भयाे । झापामा भारतबाट सामान आयात हुने मेची र भद्रपुर गरी दुइवटा मुख्य भन्सार कार्यालयहरु रहेका छन् । भन्सारबाट अवैध सामाग्री प्रवेश नगरे पनि कसरी यति ठूलो परिमाणमा बजारमा प्लाष्टिकका फुलहरु भित्रिए भन्ने प्रश्न भने सचेत नागरिकले गर्न थालेका छन् । प्लाष्टिकजन्य फुलगुच्छाहरु संघीय सरकारले प्रतिबन्ध गरे पनि कार्यान्वयनमा कडाइ नगर्दा अर्थ देखि वातावरणसम्म असर परेको सामाजिक अगुवाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post रेलमार्गले मर्नु न बाँच्नु बनायोः ऋण तिर्न नसक्दा आत्मा हत्यासम्म गर्न बाध्य
Next post वेलैमा समर्थन मुल्यमा धान खरिद शुरुः यो बर्ष विगत भन्दा दोब्बर परिमाण बृद्धि (फाेटाे फिचर)