वेलैमा समर्थन मुल्यमा धान खरिद शुरुः यो बर्ष विगत भन्दा दोब्बर परिमाण बृद्धि (फाेटाे फिचर)
२४ कार्तिक २०८०/डिकेश लामा
नेपालको सवै भन्दा धेरै धान उत्पादन हुने झापामा सरकारले तोकेको न्यूनतम समर्थन मुल्य बमोजिम सहकारीहरुले धान खरिद गर्न थालेका छन् । वेलैमा सरकारले समर्थन मुल्य सार्वजनिक गरे पछि जिल्लामा न्यूनतम् समर्थन मुल्यमा धान खरिद गर्ने परिमाण यो बर्ष झण्डै दोब्बरले बढेको छ । सरकारले यस बर्ष वेलैमा समर्थन मुल्य मोटा धानको प्रति क्वीन्टल ३ हजार १ सय ९८ रुपयाँ र मध्यम धानको ३ हजार ३ सय ६२ रुपयाँ मुल्य तोकेको छ । धानको समर्थन मुल्य आए पछि धान खरिदमा काम गर्दै आएको महारानी झोडा साना किसान कृषि सहकारी संस्थाले समेत वेलैमा धान खरिद कार्याक्रम थालेको संस्थाका व्यवस्थापक चिरञ्जीवि भण्डारीले बताउनु भयो ।
गत बर्ष झापामा ४ हजार १ सय मेट्रिक टन धान समर्थन मुल्यमा खरिद गर्दा सरकारले झण्डै ४५ लाख रुपयाँ खर्च गर्यो । यस बर्ष ८ हजार ३ सय मेट्रिक टन धान खरिद गर्ने योजना अनुसार ५ वटा कृषि सहकारीले धान खरिद गर्ने गरी सम्झौता गरेका छन् । यस बर्ष गत बर्षको भन्दा धेरै धान खरिद प्रकृया थालिएको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष मिनाकुमारी ढकालले बताउनु भयो । ढकालका अनुसार खेतमा गएर धान उठाउँदा लाग्ने यातायत खर्च भने किसानले व्यहोर्नु पर्ने भएकाले सो खर्च व्यवस्थापनमा किसानले आनाकानी गर्दा समस्या समेत हुने गरेको बताउनु भयो । समर्थन मुल्यमा धान खरिद गर्दा संस्थासम्म ल्याइदिन समेत आग्रह गर्नु भयो ।
धान खरिद गर्ने सहकारीहरुले अव धान खरिद गरेर धान नै विक्री गर्नुका सट्टा प्रशोधन गरेर बजारिकण गर्दा थप मुनाफा हुन्छ । यसका लागि प्रशोधनलाई जोड दिनु पर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोन कार्यान्वयन इकाइ झापा बरिष्ठ कृषि अधिकृत रविन्द्र सुवेदीले बताउनु भयो । सुवेदीका अनुसार केही सहकारी संस्थाहरुले प्रशोधन थालेका छन् । प्रशोधन गरेर चामाल विक्री गर्ने हो भने भारतबाट आयात हुने चामालको परिमाण समेत घट्ने उहाँले बताउनु भयो । यस बर्ष गौरादह, गौरीगंज र बाह्रदशी, दमकका ५ वटा संस्थाले धान खरिदका लागि सम्झौता गरेका छन् ।
सहकारीले धान खरिद गर्दा सरकारले प्रति क्वीन्टल १ सय १२ रपयाँ अनुदान दिने गरेको छ । ४ लाख मेट्रिक टन बढी धान उत्पादन हुने झापा जिल्लामा समर्थन मुल्य खरिद विक्री परिमाण र क्षेत्र विस्तार गर्न सके मात्र किसानलाई राहत पुग्ने उनीहरुको भनाइ छ ।