पशु पालक किसान दाेहाेराे मारमाः लम्पीले कोशी प्रदेशमा ११ हजार बढी पशुको मृत्यु

१३ चैत्र २०८०/डिकेश लामा
पछिल्लो समय झापाका पशुपालक किसानहरु दोहोरो मारमा परेका छन् । एकातिर दुध विक्रीमा समस्या छ भने अर्को तिर गत बर्ष महामारीको रुपमा आएको लम्पी स्कीन रोगका कारण पशुमा समस्या देखिएको छ ।

देशव्यापीरुपमा देखा परेको लम्पी स्किन रोगका कारण झापामा मात्रै झण्डै ३७ हजार पशु संक्रमित भए भने २ हजार बढीको मृत्यु भयो । सरकारले तत्काल उपलव्ध गराएको भ्याक्सिन र औषधीका धेरै गाइबस्तु बचाउन सकियो । तर अहिले ती पशुहरुमा समस्या देखिएको भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका पशु चिकित्सक डा. रोशन दाहालले बताउनु भयो । दाहालका अनुसार लम्पी स्कीन रोग लागेर निको भएका चौपायमा बाँझोपन, थुनेलो र दुध उत्पादनमा ह्रास आएको बताउनु भयो ।

पशुमा रोग देखा परे पछि धेरै किसानहरुको गोठ नै रितिएको छ । जेनतेन बचाइएका पशुचौपायबाट यो बर्ष अझै पनि खासै आम्दानी लिन सकिएको छैन । निको भएका पशुहरुमा समेत समस्या देखिएको किसानले बताएका छन् । दमक वडा नं. २ का किसान चेतन विष्टका अनुसार रोग लागेका पशुमा दुध उत्पादनमा समस्या त छँदै छ विक्री गरेको दुधको भुक्तानी र बजार समेत अभाव हुँदा थप समस्या भएको छ ।

दमक नगरपालिकामा स्थानीय सरकारको बजेटमै रोग नियन्त्रणका लागि ६ हजार भ्याक्सिन निशुल्क उपलव्ध गराइयो । महामारीबाट बचाउन सफल भएका पशुहरुमा पछिल्लो समय समस्या देखिएको नगरपालिकाका पशु शाखा प्रमुख विपु अधिकारीले बताउनु भयो । अधिकारीका अनुसार नगरमा आफूहरुले घर घरमा पुगेर भ्याक्सिन लगाएका कारण धेरै पशुचौपाय बचाउन सकिएको बताउनु भयो ।

झापा जिल्ला दुधमा आत्मानिर्भर जिल्ला हो । दैनिक झण्डै २ लाख लिटर दुध उत्पादन हुँदै आएको जिल्लामा गत बर्षको महामारीका कारण पछिल्लो समय दुध उत्पादन र प्रजनन्मा समस्या देखिएको किसानको भनाइ छ । कोशी प्रदेशमा गत बर्ष देखि गएको असोज मसान्तसम्म २ लाख ५६ हजार ६ सय ७४ पशुचौपायमा खोप लगाइएको छ । रोग लागेर पनि २ लाख ७८ हजार पशुचौपाय निको भएका छन् । यस्तै रोगका कारण ११ हजार ५ सय ८ वटा पशुको मृत्यु भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय कोशी प्रदेशले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post जंगली हात्तीको आक्रमणबाट श्रीमतिको मृत्यु श्रीमान् घाइते
Next post संविधानसभा सदस्य सहित गाउँनै केरा खेतीमा आकार्षित (फाेटाे फिचर)